१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मसानघाटलाई किर्ते प्लटिङ गरी बिक्री गरेको जग्गा सरकारको नाममा फिर्ता


0
Shares

बारा, असोज २३ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ मा रहेको ५९ नम्बर कित्ताको ६ बिघा ८ कठ्ठा प्लटिङ जग्गा शुक्रबारदेखि नेपाल सरकारको नाममा फिर्ता भएको छ ।

प्रोपर्टी मेनेजमेन्ट प्रालिका सञ्चालक इच्छाबहादुर वाग्लेले सहरी विकास नाम खडा गरी मसानघाटलाई किर्ते प्लटिङ गरी बिक्री गरेको उक्त जग्गा आजदेखि मालपोत कार्यालय सिमराले सरकारको नाममा ल्याइ सार्वजनिक गरेको हो ।

मसानघाट भनी उल्लेख भएको कित्ता नम्बर ५९ को ६ बिघा ८ कठ्ठा जग्गा २०४७ साउन ३० गते सरकारको ऐलानी स्रेस्ता बदर गरी भूमाफियाले किर्ते गरेर प्लटिङ गरी करोडौंमा बेचेका थिए ।

दर्जनौं कित्ताकाट भएर यस क्षेत्रका बासिन्दा, जनप्रतिनिधि, उद्योगी, व्यापारी, अस्पताललगायतलाई करोडौं मूल्यमा वाग्लेले बिक्री गरेका थिए ।

सिमरा मालपोतका प्रमुख यादव आचार्यले ऐन-नियमअनुसार किर्ते गरेको प्रमाणित भएपछि उक्त मसानघाटको जग्गा सार्वजनिक गरिएको बताउनुभयो ।

साविक कित्ता ५९ कायम गरी अन्य कित्ताहरु बदर गर्न शुक्रबारै मालपोतले नापी कार्यालयलाई पत्राचार गरेको हो ।

नेपालका ठूला पहुँच भएका र प्रभाव पार्नसक्ने जग्गा दलालहरुले एकाएक सिमरालाई थलो बनाइ जग्गाको किर्ते व्यापार थालेको मसानघाट प्लटिङ र प्रघुम्नराज पाण्डेको २४ बिघा जग्गा सार्वजानिक भएसँगै खुल्न आएको छ ।