१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेकपामा एकताको बाँकी काम टुंग्याउने भाखामा फेरिपनि संशय


0
Shares

kp oli prachanda corona

काठमाडौं, असोज २३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष र महासचिवबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारको छलफलमा हप्ता दिनभित्रै एकताको बाँकी काम टुंग्याउने सहमति जुटेपनि संशय कायमै छ ।

केन्द्रीय सचिवालय बैठकले १० दिनभित्र एकीकरणको बाँकी प्रक्रियालाई टुंग्याउने निर्णय गरेपनि दुई हप्ता बित्दासमेत यसको छनक नदेखिनुले एकता प्रक्रिया झनै पेचिलो बन्दै गएको छ ।

२०७५ जेठ ३ गते तत्कालीन एमाले र एकीकृत माओवादीको एकीकरणबाट गठन भएको नेपाल कम्युनिस्ट पार्टीले पहिलोपटक तीन महिनाभित्र एकताका सबै काम सम्पन्न गर्ने घोषणा गरेपनि त्यो अपूरो साबित भयो ।

त्यसयता एकपल्ट बसेको केन्द्रीय कमिटी बैठक र दुईपटक बसेको स्थायी कमिटी बैठकले पनि समय तोकेरै एकीकरण प्रक्रिया टुंग्याउने निर्णय गरे भने केन्द्रीय सचिवालयका हरेक बैठकले ‘पार्टी एकीकरणका बाँकी काम टुंग्याउने’ रटान लगाउँदै आएको छ ।

पाटी एकीकरणको २८ महिनापछि असोज ६ गतेको सचिवालयको ६८औं बैठकले स्थायी कमिटीको ‘म्यान्डेट’अनुसार नै १० दिनभित्र एकताका बाँकी काम सक्ने प्रस्ताव अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल अनि महासचिव विष्णु पौडेलसमेतलाई दिएपनि त्यो पूरा भएन ।

नेताहरूका आन्तरिक मतभेद र एकीकरणप्रतिको उदासीनताका कारण यसले पूर्णता पाउन नसकेको बताउनुहुन्छ, नेकपा केन्द्रीय सदस्य ईश्वरी रिजाल ।

नेकपाको पार्टी एकीकरण प्रक्रिया टुंगिन नसक्दा कमिटी प्रणालीसमेत प्रभावहीन बनेको छ ।

विधानतः केन्द्रीय विभागको संख्या बढीमा ३५ सदस्यीय हुनेमा पार्टीका ३३ ओटा केन्द्रीय विभागले नै पूर्णता पाएका छैनन् ।

जनसंगठनहरू, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार परिषद्, केन्द्रीय लेखा, निर्वाचन, अनुशासन आयोगहरु सदस्यहरुबिनाको नेतृत्वमै सीमित छन् भने नीति प्रतिष्ठानमा पनि सदस्यहरूको रिक्तता कायमै छ ।

एकीकरण प्रक्रियाअन्तर्गत् पोलिटब्यूरो र केन्द्रीय परिषद् गठनको सुरसार नै नगरेको नेकपाले प्रवास समन्वय र विशेष जिल्ला कमिटीहरूलाईसमेत नेतृत्वको बन्दी बनाएको छ ।

यसबाट पार्टीका कैयन सदस्यहरु जिम्मेवारविहीन भएको र कमिटीलेसमेत प्रभावकारी काम गर्न नसकेको केन्द्रीय सदस्य रिजालको बुझाइ छ ।

त्यसो त निर्णयहरुको चाङ लगाउने तर कार्यान्वयनमा नल्याउने नेकपाको यो पुरानै रोग हो ।

पार्टी कमिटीको अपूर्णताकै बाबजुद् नेकपाले आउँदो चैतमा पार्टी महाधिवेशन गर्ने निर्णय गरेपनि यसप्रति पार्टीपंक्ति विश्वस्त हुनसकेको देखिँदैन ।

त्यसो त पार्टीमा काम गर्ने नेताका जिम्मेवारी दोहोरो, तेहेरो हुनु र जिम्मेवारी बोकेका अधिकांश सदस्य सरकारमा सहभागी हुँदा एकीकरणका बाँकी कामहरु प्राथमिकतामा पर्न सकेका छैनन् ।

कहिले नेताहरुका पदीय भागबन्डा मिलाउने सकस त कहिले मन्त्रिपरिषद् पुनर्गठनको मुद्दाको चेपुवामा परेको नेकपाको एकीकरण प्रक्रियाले अबको हप्तामै पूर्णता पाउनेमा भने फेरिपनि विश्वास गरिहाल्ने स्थिति देखिँदैन ।

भिडियो हेर्नुहोस्