१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली क्रिकेट टोलीका लागि कस्तो प्रशिक्षक आवश्यक ?


0
Shares

काठमाडौं, असोज २३ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रशिक्षकका लागि आह्वान गरेको दरखास्तको मिति सकिएको छ ।

छोटो समयमा नेपालले प्राप्त गरेको सफलतालाई जोगाउन कस्तो प्रशिक्षक आवश्यक छ ? अहिले चासोको विषय बनेको छ ।

दुई दशकअघि श्रीलंकाली प्रशिक्षक रोय डायसले नेपाली टोली सम्हाल्दै गर्दा नेपाली क्रिकेट टोली बामे सर्दै थियो ।

श्रीलंकाली प्रशिक्षक डायसले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा भिजाउन मेहनत गरेर क्रिकेटको बलियो जग बसालेसँगै अर्का प्रशिक्षक पुबुदु दासानायकेले नेपाली क्रिकेटलाई नतिजा दिलाउन महत्वपूर्ण भूमिका खेल्नुभयो ।

त्यसपछि नेपालले विभिन्न डिभिजनका खेललाई पार गर्दै अहिले एकदिवसीय मान्यता पाएको छ । ट्वेन्टी–२० विश्वकपमा पनि अनुभव बटुल्न सफल भयो, नेपाली टोली ।

नेपाली टोलीलाई १३ विदेशी प्रशिक्षकले प्रशिक्षण दिइसकेका छन् । यो अवधिमा नेपालले अन्तर्राष्ट्रियस्तरमा स्थान पनि बनाउन सफल भयो ।

अहिलेको अवस्थामा नेपाली क्रिकेट टोलीका लागि अनुभवी र अन्तर्राष्ट्रियस्तरमा बलियो प्रभाव भएको प्रशिक्षक आवश्यक भएको बताउनुहुन्छ, पूर्वक्रिकेटर पवन अग्रवाल ।

नेपाली टिमको प्रशिक्षक बनेर को आउला भन्ने चासो सर्वत्र बढ्दै गइरहेको अवस्थामा पूर्वकप्तान विनोद दासले भने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने हैसियत बनाएको नेपाललाई विश्व क्रिकेटलाई नजिकबाट बुझ्नसक्ने प्रशिक्षक आवश्यक भएको बताउनुहुन्छ ।

२०७६ माघमा उमेश पटवालले राजीनामा दिएपछि अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन छ ।

राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक जगत टमटालाई नेपाली टिम हेर्ने जिम्मेवारी तोकिएको छ । तर, क्रिकेटको गतिविधि भने शून्य छ ।

कोरोना महामारी कारण उत्पन्न परिस्थितिले अन्तर्राष्ट्रिय क्रिकेट प्रभावित गरिरहेको अवस्थामा क्यानले प्रशिक्षक र विभिन्न पदाधिकारीको नियुक्तिलाई सक्दो छिटो पूरा गरी क्रिकेटलाई चलायमान बनाउनु आवश्यक देखिएको छ ।