
काठमाडौं, असोज २३ । विश्वका धेरै मुलुक र नेपालमा पनि कोरोनाभाइरसको संक्रमण दिनहुँ बढ्दो छ । चिकित्सकहरुले यसबाट जोगिन विभिन्न सुझावहरु दिँदै आएका छन् ।
नेपालीहरुका घर-घरमा ठूला चाडपर्व क्रमशः भित्रिँदैछ । चाडपर्वमा इष्टमित्रसित भेटघाट र रमाइलो गर्ने गरिन्छ । आफन्तका घर-घरमा जाने नेपालीहरुको रीति छ ।
तर, कोरोनाभाइरसलाई मध्यनजर गर्दै चाडपर्व र उत्सवको समयमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्प्रेषण गरेको चाडपर्वको समयमा अपनाउनुपर्ने सावधानीका विषयमा डा. अमृत पोखरेलले दिनुभएको सुझाव तल जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।
डा. अमृत पोखरेल भन्नुहुन्छ-‘चाडपर्व मनाउँदा वा अन्य सामाजिक कार्य गर्दा सकेसम्म एउटै घरका व्यक्तिहरुमात्र सहभागी हुने । अन्य व्यक्तिहरु पनि सहभागी भएमा व्यक्ति-व्यक्तिबीचको दूरी दुई मिटर कायम गर्ने । चाडपर्वको समयमा सकेसम्म घरबाहिर भेटघाटमा नजाने । जानैपर्ने भएमा उपयुक्त मास्कको प्रयोग गर्ने । चाडपर्व वा अन्य सामाजिक कार्यक्रमस्थलमा प्रवेश गर्दा अनिवार्यरुपमा साबुन-पानी वा स्यानिटाइजरको प्रयोग गर्ने ।
अन्य तयारीहरु-भेला हुँदा २५ जनाभन्दा बढीको संख्यामा नहुने । अभिवादन गर्दा भौतिक दूरी कायम गरी नमस्कार गर्ने । अंकमाल नगर्ने । सतहहरु (जस्तैः ढोकाको ह्यान्डल, रेलिङ, देवी-देवताका मूर्तिहरु तथा धेरै व्यक्तिहरुले प्रयोगमा ल्याउने सामग्रीहरु) सकेसम्म नछुने । आँखा, नाक, मुख सकेसम्म नछुने । छुनै परेमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने । खोक्दा, हाच्छ्यिुँ गर्दा अनिवार्यरुपमा रुमाल वा टिस्यु पेपरले मुख छोप्ने । सम्भव नभए कुहिनाले छोप्ने । सार्वजनिकस्थलमा नथुक्ने । सम्भव भएसम्म पैसाको कारोबार विद्युतीय माध्यमबाट गर्ने ।’
प्रतिक्रिया दिनुहोस्