१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना


0
Shares

त्रिशूली, असोज २४ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना रोगको संक्रमण पुष्टि भएको छ ।

असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्यसहित ११ जनामा रोगको संक्रमण भएको नतिजा आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष तामाङले आफू र उपाध्यक्षसहित ११ जनामा संक्रमण भएको नतिजा आएकाले सम्पर्कमा रहेका व्यक्तिहरुलाई सुरक्षित भएर ‘क्वारेन्टिन’मा बस्न आग्रह गर्दै स्वाब जाँचको प्रबन्ध मिलाउने जानकारी दिनुभयो ।

अध्यक्ष तामाङकाअनुसार कोरोना संक्रमण पुष्टि हुनेमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, अध्यक्षका सवारीचालक, गाउँपालिकाका कार्यालय सहयोगी, दुईजना एम्बुलेन्सचालक र पाँचजना शिक्षक रहेका छन् ।

गएको बुधबार १८ जनाको स्वाब संकलन गरेर पठाएको नमुनामध्ये ११ जनामा रोगको संक्रमण देखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमणपश्चात् गाउँपालिकाले प्रवाह गर्ने सबै सेवाहरु अनिश्चित समयको लागि रोकिएको छ भने गाउँपालिकाको कार्यालय रहेको स्थान समुन्द्रटार बजार ‘सिल’ गरिएको छ ।