
इस्लामावाद, असोज २४ । सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ ।
चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरुले प्रतिबन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिबन्ध लगाएको हो ।
‘अनैतिक सामग्रीहरु’ भएको निष्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देशभित्र प्रतिबन्ध लगाउने निर्णय गरेको अधिकारीहरुले जनाएका छन् ।
चीनसँगको सदाबहार मित्र भएपनि चिनियाँ एपलाई मुलुकभित्र प्रतिबन्ध लगाउनुपर्ने बाध्यता सृजना भएको अधिकारीहरुको भनाइ छ ।
टिकटकबाट मुस्लिम धार्मिक संस्कारको उल्लंघन र त्यसलाई असर पार्ने कार्य भइरहेकाले त्यसलाई नियन्त्रणका लागि टिकटक प्रतिबन्ध लगाउनुपरेको उनीहरुले बताएका छन् ।
पाकिस्तानी दूरसञ्चार प्राधिकरणद्वारा जारी वक्तव्यमा सामाजिक तथा धार्मिक संस्कार बिथोल्ने गतिविधि भएको भन्दै टिकटककाविरुद्धमा उजुरीहरु परेको उल्लेख गरिएको छ ।
मुस्लिम संस्कारअनुसार महिलाहरुले बुर्का लगाउनुपर्ने, शारीरिक अंगहरु प्रदर्शन गर्न नहुनेलगायतका कडा साँस्कृतिक व्यवस्था भएपनि टिकटक प्रयोगकर्ताहरुले त्यसलाई उल्लंघन गरेको उजुरीकर्ताहरुको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्