
काठमाडौं, असोज २४ । कोरोना बिमालेख बिक्रीवापत् संकलित प्रिमियम बराबरकै रकमको बिमा दाबी भुक्तानी परेको कम्पनीहरुले जनाएका छन् ।
कोरोनाको संक्रमणमा वृद्धि हुँदै गएको वैशाखबाट बिमा समितिले निर्जीवन बिमा कम्पनीहरुमार्फत् कोरोना बिमा सुरु गरेको थियो । जसमा कम्पनीहरुले ५० हजार र एक लाख रुपैयाँको गरी दुई प्रकारको कोरोना बिमालेख बिक्री सुरु गरेका थिए ।
हालसम्म कम्पनीहरुले एक लाख ५० हजार बढीको कोरोना बिमा गरी ८७ करोड बढी प्रिमियम संकलन गरेको दाबी गरेका छन् ।
संकलित प्रिमियमको ९३ प्रतिशतभन्दा बढी रकम बराबरको दाबी भुक्तानी कम्पनीमा परेको बिमा समितिले जनाएको छ ।
बिमा समितिले भदौ २९ गते कोरोना बिमा निर्देशिका संशोधन गरी सरकारी र सरकारी निकायबाट मान्यताप्राप्त ल्याबमा परीक्षणलाईमात्र मान्यता दिने भनेपनि सर्वत्र आलोचना भएको थियो ।
त्यसपछि निजी ल्याबलाई पनि अनुमति दिने भनिएपनि बिमा कम्पनीले त्यो मान्यतालाई कार्यान्वयन नगरेको गुनासो छ ।
बिमा कम्पनीहरुलाई बीमितले पेस गरेको रिपोर्टमा शंका लागेमा भने आफ्नै खर्चमा पुनः परीक्षण गराउनसक्ने व्यवस्था बिमा समितिले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्