
काठमाडौं, असोज २६ । सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पताललाई कोभिड-१९ अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।
तत्कालीन अवस्थामा आकस्मिकबाहेकका अपरेसन नगर्न निर्देशन दिँदै सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले आकस्मिकबाहेकका अपरेसन नगर्दा संक्रमित बिरामीलाई आईसीयू बेड र भेन्टिलेटर बेड उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सकिने बताउनुभयो ।
कोभिड अस्पतालका रुपमा सेवा दिने सरकारी अस्पतालहरुमा स्वास्थ्य सेवा विभागले आईसीयू, भेन्टिलेटर र अक्सिजनलगायतका सामग्री उपत्यकाकेन्द्रित गरी व्यवस्थापन गर्नपनि निर्देशन दिइएको उहाँले बताउनुभयो ।
यस्तै, प्रवक्ता डा. गौतमले कार्यालय समय र दिन घटाएर काममा लगाउन र व्यापार-व्यवसायको ‘मोडालिटी’ परिवर्तन गर्नपनि आग्रह गर्नुभयो ।
यसैगरी, अस्पतालहरुले विभिन्न होटलहरुसँग मिलेर ‘आइसोलेसन’ केन्द्र सञ्चालन गर्न पाउने व्यवस्था पनि सरकारले गरेको छ ।
मन्त्रालयको स्वीकृति लिएर अस्पतालहरुले होटलहरुलाई आइसोलेसन सेन्टरका रुपमा सञ्चालन गर्न पाउनेछन् । यद्यपि, त्यहाँ संक्रमितबाहेकका अन्य सर्वसाधारण राख्न भने पाइने छैन ।
प्रतिक्रिया दिनुहोस्