४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


‘जहाज थपेर निगमलाई नाफामा लैजान्छु’


0
Shares

काठमाडौं, असोज २६ । नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)का नवनियुक्त महाप्रबन्धक डिमप्रसाद पौडेलले सोमबार आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।

मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले पौडेललाई चार वर्षको लागि महाप्रबन्धक पदमा नियुक्त गरेको थियो ।

चार्टर्ड एकाउन्टेन्टका साथै व्यवस्थापनविज्ञका रुपमा परिचित उहाँ यसअघि निगम सञ्चालक समितिको सदस्य हुनुहुन्थ्यो ।

नयाँ सडकस्थित निगम मुख्यालयमा सोमबार आयोजित पदभार ग्रहण कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरेले निगमले व्यवस्थापनविज्ञ र युवा महाप्रबन्धक पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले कोरोना महामारीको अवस्थामा पनि निगमले उल्लेखनीय सेवा प्रदान गर्दै आएकोमा प्रशन्नता व्यक्त गर्दै पारस्परिक सल्लाह र समझदारीको आधारमा नयाँ महाप्रबन्धकको नियुक्ति भएकोले मिलेर काम गर्ने विश्वास दिलाउनुभयो ।

नवनियुक्त महाप्रबन्धक पौडेलले उड्डयन क्षेत्रमा आफ्नो अनुभव नयाँ भएपनि सरकारले विश्वास गरी नयाँ जिम्मेवारी प्रदान गरेकोमा आभार व्यक्त गर्नुभयो ।

उहाँले निगमलाई गतिशील बनाउन एक्लो प्रयास पर्याप्त नहुने सन्दर्भमा सबैको सहयोगको अपेक्षा गर्दै निगममा विमान थप गरी सञ्चालन मुनाफाको प्रत्याभूति गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नायब महाप्रबन्धक गणेशबहादुर चन्दले निगमबारे पूर्ण जानकारी राख्नुहुने व्यक्ति निगमको महाप्रबन्धक भएकाले पनि निगमले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुभास डाँगीले निगमसँग पर्याप्त सम्भावना भएपनि हालको समस्याबाट पार पाउन निकै महत्वपूर्ण प्रयास आवश्यक रहेको बताउनुभयो ।

पौडेल निगम सञ्चालक समितिको सदस्यको जिम्मेवारीमा रहँदा आन्तरिक उडानका छओटा चिनियाँ जहाजले घाटा व्यहोर्दै आएकाले गत साउन १५ गतेदेखि ती जहाज सञ्चालन नगर्ने निर्णय भएको थियो । निगमसँग हाल आन्तरिक उडानमा दुईमात्रै जहाज छन् ।

राजधानी तथा क्षेत्रीय उडानसहित देशभरका २३ भन्दा बढी गन्तव्यमा निगमले आन्तरिक उडान गर्दै आएको छ ।

अन्तर्राष्ट्रियतर्फ दुईथान वाईडबडी ए ३३० र दुईथान न्यारोबडी ए ३२० जहाजले भारतका तीनसहित विभिन्न मुलुकका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।