१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सीमावर्ती भारतीय बजार यस वर्ष सुनसान, राजस्व संकलनमा भने वृद्धि


0
Shares

झापा । चाडपर्वमा नेपाली उपभोक्ताले खचाखच हुने सीमावर्ती भारतीय बजार यस वर्ष सुनसान छ ।

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण नेपाल–भारत सीमा नाका शिल हुँदा नेपाली ग्राहकले थेगेको पूर्वी नेपालको भारतीय बजार पानीट्याङ्की, नक्सलवाडी, सिलिगुढीलगायतका बजार अहिले सुनसान छन् ।

अघिल्लो वर्ष यो समय पूर्वी नाका काँकडभिट्टामा भारतीय बजार जानेको लर्काे लाग्ने गरेको थियो ।

कोरोनाकै कारण भारतीय बजार मात्र नभइ पूर्वी नाका काँकडभिट्टा, धुलावारीलगायतका बजार पनि सुनसान प्रायः छन् ।

पूर्वी नाका सिल हुँदा अवैध रुपमा नेपाल भित्रिने सामग्री अहिले भन्सारको बाटो भएर मात्रै भित्रिने गरेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।

यस अघिका वर्षमा चाडपर्वमा भारतीय बजारमा किनमेल गर्न जानेको भीड हुन्थ्यो ।

तर यस वर्ष पूर्वी नाकाबाट भन्सार भएर मात्रैसामग्री भित्रिने गरेकाले राजस्व संकलनमा वृद्धि भएको कार्यालयका प्रमुख भन्सार अधिकृत धु्रवराज विश्वकर्माले बताउनु भयो ।

मेची भन्सार कार्यालयको आर्थिक वर्ष २०७७÷०७८ का लागि वार्षिक राजस्वको लक्ष्य १२ अरब ९ करोड छ ।

साउन महिनामा लक्ष्यभन्दा बढी ११७ प्रतिशत राजस्व असुली भएको छ । साउनमा ४३ करोड लक्ष्य रहेकोमा ५१ करोड राजस्व उठेको छ ।

त्यस्तै भदौ महिनामा ८४ करोड राजस्व असुलीको लक्ष्य रहेकोमा ८१ करोड अर्थात ९६.५ प्रतिशत राजस्व असुली भएको छ ।

साउन र भदौ महिनाको जोडेदा यो लक्ष्यभन्दा बढी हुन आउँछ ।

यसैगरी असोजमा एक सय १९ करोड लक्ष्य रहेकोमा २४ गतेसम्म ७६ करोड अर्थात लक्ष्यको ६५ प्रतिशत असुली भएको छ ।

साथै यो मसान्तसम्ममा ६ करोड माथि पुग्ने अनुमान गरिएको छ ।