१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जोन्सन एन्ड जोन्सनको कोरोनाभाइरसविरुद्धको खोपको परीक्षण स्थगित


0
Shares

न्यू ब्रन्सवीक, असोज २७ । कोरोनाभाइरसविरुद्धको खोपको अन्तिम चरणको परीक्षण गरिरहेको जोन्सन एन्ड जोन्सन कम्पनीले खोप दिइएका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएको भन्दै परीक्षण स्थगित गरेको घोषणा गरेको छ ।

कम्पनीले एक विज्ञप्ति जारी गरी क्लिनिकल परीक्षणकाक्रममा सहभागीमा कुनै किसिमको स्वास्थ्य समस्या आउनु स्वाभाविक रहेको जनाएको छ ।

‘खासगरी खोपमा सहभागीहरुको ठूलो संख्या भएपछि एकाध व्यक्तिमा स्वास्थ्य समस्या देखिन्छ’-कम्पनीले भनेको छ ।

कम्पनीका फिजिसियन र सुरक्षा अनुगमन समूहले ती व्यक्तिमा देखिएका स्वास्थ्य समस्याकाबारेमा अध्ययन गर्ने बताएको छ ।

खोप लगाएका व्यक्तिको निजी गोपनीयताको संरक्षण गर्ने भन्दै कम्पनीले ती व्यक्तिकाबारेमा केही बताएको छैन ।

अमेरिकामा ठूलो संख्याका व्यक्तिमा यो खोप लगाइएको छ ।

ठूलो मेडिकल अध्ययनमा अस्थायी रोकावटलाई सामान्यरुपमा लिइने गरिन्छ । कम्पनीहरुले औषधिको परीक्षणकाक्रममा व्यक्तिमा देखिने गम्भीर वा अनपेक्षित प्रतिक्रियालाई अनुसन्धान गर्नुपर्ने हुन्छ ।

जोन्सन एन्ड जोन्सनको खोप परीक्षण रोकिएकोसम्बन्धी पहिलो समाचार ‘स्ट्याट’ले दिएको थियो ।

अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले संयुक्तरुपमा तयार पारेको खोपको अन्तिम चरणको परीक्षण अहिले अमेरिकामा रोकिएको छ ।

अमेरिकी अनुसन्धाताहरुले खोपले मानिसमा कुनै स्वास्थ्य जोखिम निम्त्याउने हो वा होइन भन्ने अध्ययन गरिरहेका छन् ।

अस्ट्राजेनिका–अक्सफोर्डको खोप लगाएकी एक महिलामा स्नायुप्रणालीमा समस्या आएपछि खोप परीक्षण स्थगित गरिएको थियो । तर, यस खोपको परीक्षण अन्य मुलुकमा जारी रहेको छ ।

जोन्सन एन्ड जोन्सनले खोपको एक ‘डोज’ले नै कोरोनाभाइरसबाट सुरक्षा दिनेगरी तयार पारेको आफ्नो खोपमा ६० हजार व्यक्तिलाई सहभागी गराउने लक्ष्य राखेको छ ।

अमेरिकाका अन्य कम्पनीले भने कोरोनाभाइरसबाट सुरक्षित राख्न व्यक्तिलाई खोपको दुई डोज लगाउने गरी खोप निर्माण गरिरहेका छन् ।