१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘मुलुक अहिले विकास र समृद्धिको विशाल राजमार्गमा पहिलो पाइला टेक्दैछ’


0
Shares

उदयपुर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले केन्द्रिकृत शासन पद्धतीलाई फड्को मारेर मुलुक अहिले विकास र समृद्विको साझा चाहना बोकेर संघीय प्रणालीको बाटोमा अगाडि बढिरहेको बताउनुभएको छ ।

मुख्यमन्त्री राईले उदयपुरको वेलका नगरपालिका ७ को मैनामैनी चुहार र भोजपुरको हतुवागढी गाउपालिका–९ जोड्ने गरी दुधकोसी (सुनकोशी) नदीमा निर्माण गर्न लागिएको पक्की पुलको सिलन्यास समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।

उहाँले संघीयता स्थापना भएपछि मुलुक अहिले विकास र समृद्धिको विशाल राजमार्गमा पहिलो पाइला टेक्न सफल भएको छ भन्नुभयो । मुख्यमन्त्री राईले कोरोना महामारीका बीच पनि प्रदेश १ सरकारले विकास निर्माणमा उच्च प्राथमिकताका साथ काम गरिरहेको छ भन्नुभयो ।

मुख्यमन्त्री राईले मुलकमा स्थिर सरकार र स्थायी शान्ति नभएसम्म भौतिक विकासले फड्को मार्न नसक्ने भएकोले अवको दिनमा केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै सरकारले संघीयता कार्यान्वयनसँगै जनताका चाहना र आवश्यक्ता अनुसारका विकास निर्माणका कामहरु गरेर देखाउने चुनौति आएको बताउनुभयो ।

उहाँले प्रदेश सरकारको प्रमुख प्राथमिकतामा रहेको मैनामैनी–हंसनपुर–चुहार सडकलाई कोशी राजमार्गको विकल्पका रुपमा किमाथाङ्कासँग जोड्ने गरी विकसित गरिने र सोही अनुसार आज मुलुकको सवैभन्दा ठूलो नदिमा निर्माण गर्न लागिएको प्रदेश १ कै सवैभन्दा ठूलो पुलको शीलान्यास सम्पन्न गरिएको बताउनुभयो ।

आगामी दुई वर्ष भित्रमा निर्माण सम्पन्न गरिने गरी काम थालिएको प्रदेश सरकारको गौरवको आयोजना अन्तर्गत रहेको सो पुलको निर्माण कार्य निर्धारित समयभित्रै सम्पन्न गराउन प्रदेश सरकार लागिपर्ने भन्दै मुख्यमन्त्री राईले हतुवागढी–९ सिम्लेदेखि भोजपुर सदरमुकाम सम्मको ६५ किलोमिटर सडक निर्माणका लागि लगानी गर्न एसियाली विकास वैकसँग कुरा भइरहेको बताउनुभयो ।

‘स्थानीय सडक पुल’ कार्यक्रम इटहरीको प्राविधिक सहयोगमा यातायात पूर्वाधार निर्देशनालय प्रदेश नं १ इटहरीले कार्यान्वयन गर्ने उक्त पुलको लागत २१ करोड २३ लाख १२ हजार रुपैंयाँ छ ।

९०.६ मिटर लम्बाई र ७.५ मिटर चौडाइको डवल लेनको उक्त पुल स्टिल ट्रष्ट व्रिज ओपन फाउण्डेसन डिजाइनमा निर्माण गर्न कालिका प्यासिफिक जेवी काठमाडौको निर्माण कम्पनीले सम्झोता गरेको हो ।

यसअधि पनि उदयपुर र भोजपुर जोडने दुधकोशी नदिमा चौदण्डीगढी नगरपालिका १ रानिटार र आमचोक गाउँपालिका १० को दारे गौडा पाँचा जोडने गरी तत्कालीन प्रधान मन्त्री शेयर बहादुर देउवाले २०७४ भाद्र ३१ गते शिलान्यास गर्नु भएको थियो ।

२०७३ साल असार ३१ गते सम्झैता भएर ३६ महिना भित्र २०७६ असार २९ गते सम्पन्न गर्न रसुवा–स्वछन्द पप्पु जेबी काठमाण्डौंले जिम्मा पाएको थियो ।
निर्माण कम्पनीको लापरवाहीले अहिलेसम्म पुलको ५ प्रतिशत काम भएको छ २०० मिटर लम्बाई १० मिटर, ५० सेन्टी मिटर चौडाई सहित अपन वेल फाउन्डेशन २२ करोड २५ लाख लागत रहेको पूर्वी क्षेत्र पुत्र सेक्टर १ धरानले बताएको छ।

त्यस्तै उदयपुर खोटाङ जोडने त्रियुगा नगरपालिका १४ धाप्लाङ र बाराहापोखरी गाउँमालिका जोडने दुधकोशी पुल सोही निमार्ण कम्पनीले अलपत्र अवस्थामा छाडेको छ ।

बेलका–७ मैनामैनी चुहार र चौदण्डीगढी नगरपालिका १ रानीटारबाट भोजपुर जोडने पुल मुख्यमन्त्री राईको घर आमचोक गाउँपालिका–३ पसल भन्ज्याङ र राष्ट्रपति विद्यादेवी भण्डारीको माइती गाउँ राम प्रसाद राई गाउपालिका माने भन्ज्याङ गुरासे पुग्ने मुख्य सडक रहेको स्थानीय बताउँछन ।

बाँकी दुई पुल नबनेपनि आफैंले सिलान्यास गरेको दुधकोशी चुहार हसनपुर हतुवागढी पक्कीपुल बन्नेमा भने स्थानीय विश्वस्त छन् ।