
सर्लाही, असोज २८ । सर्लाहीमा स्थानीय एक व्यक्तिको हत्याको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेको समूहसँग सुरक्षाकर्मीको झडपमा बुधबार ५२ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा दुईजना नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकसहित २२ प्रहरी, सशस्त्र प्रहरीका निरीक्षकसहित १० जना र २० जना प्रदर्शनकारी छन् ।
सर्लाही, रामनगर गाउँपालिका–७, सिसौटका महेन्द्र रामको हत्याको विषयमा नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह नेतृत्वको समूह प्रहरी कार्यालय घेराउ गर्न पुगेको थियो ।
प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुंगा हानेपछि झडप सुरु भएको प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताउनुभयो ।
प्रदर्शनकारीको ढुंगा प्रहारबाट प्रहरी कार्यालयका सिसाहरू फुटेका छन् भने सशस्त्र प्रहरीका १८ ओटा ट्रान्सपारेन्ट सिल र नेपाल प्रहरीका १३ ट्रान्सपारेन्ट सिल भाँचिएको प्रहरीले जनाएको छ ।
ठूलो संख्यामा प्रहरी कार्यालय घेराउ गर्न पुगेपछि प्रहरीले सशस्त्र प्रहरी बलबाट डीएसपी सरोज खड्काको नेतृत्वमा १०० जनाको टोली मद्दतका लागि बोलाइएको थियो ।
सांसद सिंहले भने प्रहरीले जाहेरी दरखास्त लिन नमानेकाले दबाबमूलक कार्यक्रम गर्न प्रहरी कार्यालय पुगेको बताउनुभयो ।
सर्लाही कांग्रेसका जिल्ला सभापति नाग्रेन्द्र रायले प्रहरी हस्तक्षेप हुँदा झडप भएको दाबी गर्नुभयो ।
गत असोज २१ गते स्थानीय चन्दुनन्न महरा र विनोद महरा पक्षबीच ढुंगा हानाहान हुँदा घाइते भएका ६५ वर्षीय महेन्द्रको उपचारकाक्रममा मृत्यु भएको थियो । मृत्युपछि उनका आफन्तले १० लाख रुपैयाँ क्षतिपूर्ति, सहिद घोषणालगायत माग गरेका छन् ।
प्रदर्शनकारीहरुले भने सत्तारुढ नेकपाले महेन्द्ररामको हत्या गरेको भन्दै दोषी पक्राउ गरी कारबाहीको माग गर्दै प्रदर्शन गरेको जनाएका छन् ।
तर, प्रहरीले भने घटनामा संलग्न तीनजनालाई पक्राउ गरेको र यसमा राजनीतिको सम्बन्ध नरहेको दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्