
बलेवा, असोज २८ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपल्लो मुस्ताङमा पर्नेे कोरला नाकाको स्थलगत निरीक्षण गर्नुभएको छ ।
सीमानाका स्तम्भ र त्यहाँको पूर्वाधारको अवस्था निरीक्षणका लागि पुग्नुभएका मन्त्रीद्वयले नाका सञ्चालनसम्बन्धी छलफललाई अघि बढाइने बताउनुभयो ।
कोरला नाका सञ्चालनमा आउँदा नेपालको व्यापार प्रवर्द्धनमा सहयोग पुग्नेगरी लाग्न आग्रह गर्दै मन्त्रीहरुले एकद्वार प्रणालीबाट नाका सञ्चालनका लागि तत्काल नेपाल सरकारले पहल थाल्ने बताउनुभयो ।
परराष्ट्रमन्त्री ज्ञवालीले नाका सञ्चालनका लागि आवश्यक छलफल सुरु गरिनेपनि जानकारी दिनुभयो ।
उद्योगमन्त्री भट्टले कोरला नाका व्यापारिक प्रयोजनका लागि निकै महत्वपूर्ण नाका रहेकाले यसको सञ्चालनले नेपाल-चीन व्यापार सम्बन्धमा थप सुधार आउने बताउनुभयो ।
काठमाडौंबाट मन्त्रीद्वय हेलिकोप्टरमार्फत् नाकामा पुग्नुभएको थियो । मन्त्रीसँगै परराष्ट्र र उद्योगसचिव पनि कोरला पुग्नुभएको थियो ।
नेपाल–चीन जोड्ने गरी निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको प्रगतिका विषयमा पनि मन्त्रीहरुले चासो व्यक्त गर्नुभयो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलकाअनुसार मन्त्रीद्वयले कोरला नाका निरीक्षण गर्नाका साथै चीन-नेपाल द्विदेशीय व्यापारिक नाकालाई कसरी प्रवर्द्धन र विकास गर्न सकिन्छ भन्नेबारे स्थलगत अध्ययन एवं निरीक्षणका लागि मुस्ताङ पुग्नुभएको थियो ।
नाका सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाउन मन्त्रीहरुसँग सांसद प्रेमप्रसाद तुलाचनले माग गर्नुभएको थियो । सांसद तुलाचनले सरकारले सिमानामा संरचना बनाउन ढिलाइ गरिरहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्