१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भक्तपुरमा प्रहरीको ‘फेक इन्काउन्टर’, घटनाको अनुसन्धानमा खटिएका एसपीसहति ६ जनालाई कारवाही गर्न सिफारिस


0
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भक्तपुरमा २०७५ साउन २१ मा बालक अपहरणकारीलाई आफैंले गोली हानी हत्या गरेको दावी गरेको छ ।

बालक अपहरण प्रकरणमा इन्काउन्टरमा दुई जना मारिएको बताएपनि आयोगले प्रहरी अधिकारीकै संलग्नतामा उनीहरुको हत्या गरेको ठहर गरेको छ ।

आयोगको हिजो बसेको बैठकले तत्कालीन महानगरीय अपराध महाशाखाबाट खटिएका अधिकृतलाई दोष देखाउँदै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

आयोगका अनुसार महाशाखाका एक जना प्रहरी उपरीक्षक (एसपी), प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित ६ जनालाई कारबाही गर्नुपर्ने भनेको छ ।

आयोगले घटनास्थलको वस्तुस्थिति र प्रमाणले भक्तपुर इन्काउन्टरमा अजय तामाङ र गोपाल तामाङको हत्या भएको निष्कर्ष निकालेको जनाएको छ ।

प्रहरीले २०७५ साउन २१ मा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्न दुई जनामाथि सूर्यविनायकको जंगलमा गोली हानेको थियो ।

तत्कालीन महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले भक्तपुरको डोलेश्वर जंगलमा दोहोरो भिडन्त भएपछि दुई जना अभियुक्त मारिएको बताउनुभएको थियो ।

तर, आयोगको छानविनले दुवै जनालाई घरमै नियन्त्रणमा लिइ जंगलमा लगेर हत्या गरिएको ठहर गर्दै कारबाही गर्न सिफारिस गरेको छ ।

यसअघि आयोगले विप्लव समूहका नेता कुमार पौडेलको इन्काउन्टरमा पनि प्रहरीलाई दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको छ ।

तर, प्रकरणमा संलग्न प्रहरी अधिकृतमाथि हालसम्म सरकारले कारबाही प्रक्रिया अघि बढाएका छैन ।