१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालमा कोरोना संक्रमण नियन्त्रणबाहिर पुग्ने खतरा


0
Shares

काठमाडौं, असोज ३० । नेपालमा कोरोना संक्रमणले महामारीको रुप लिइसकेको छ । दैनिक तीन हजारमाथि संक्रमित भेटिइरहेका छन् ।

सरकारले कोरोनाभाइरसको परीक्षण र उपचारमा ठूलो रकम खर्च भएको र सेवा-सुविधाको पनि अधिकतम् विस्तार गरेको दाबी गररहँदा संक्रमण भने नियन्त्रणबाहिर जाने संकेत देखिएको छ ।

नेपालमा कोरोना परीक्षण गर्न थालिएको सात महिनाको अवधिमा कुल जनसंख्याको ४ प्रतिशत व्यक्तिमा परीक्षण भएको सरकारी तथ्यांक छ ।

१२ लाख बढीको ‘पीसीआर’ परीक्षण हुँदा एक लाख २५ हजार बढीमा संक्रमण देखिएको छ ।

देशभरका निजी तथा सरकारी प्रयोगशालामा दैनिक १६ हजारमाथि व्यक्तिको परीक्षण हुँदा औसतमा चार हजार बढी संक्रमित भेटिन थालेका छन् । पछिल्लो केही दिनयताको तथ्यांक हेर्दा संक्रमितको संख्या उकालो लाग्दोक्रममा छ ।

यस्तै अवस्था भइरहे के हुन्छ ? जनमानसमा उब्जिएको ठूलो प्रश्न हो यो । कोरोनाबाट मृत्यु हुनेको संख्यासमेत बढ्दो छ ।

सरकारले महामारी नियन्त्रणका लागि हरसम्भव प्रयास भइरहेको बताएपनि नतिजा भने भरोसा गर्न सकिनेखालको देखिँदैन ।

हाल काठमाडौं उपत्यकामा ५० हजार बढी संक्रमित रहेकोमा काठमाडौं जिल्लामा मात्र ४० हजारमाथि संक्रमित छन् ।

प्रदेश नम्बर-१ का तीन जिल्ला मोरङमा पाँच हजारमाथि, सुनसरीमा तीन हजार र झापामा एक हजार बढीमा संक्रमण देखिएको छ ।

प्रदेश नम्बर-२ का ८ मध्ये चार जिल्लामा दुई हजारमाथि र चार जिल्लामा एक हजार बढीमा संक्रमण देखिएको छ ।

वाग्मती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र काभ्रेमा बढी संक्रमण भेटिएको छ ।

हालसम्म गण्डकी प्रदेशका दुई जिल्ला कास्की र नवलपरासी पूर्वमा एक हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ ।

लुम्बिनी प्रदेशका रुपन्देहीमा चार हजार, बाँकेमा दुई हजार, कपिलवस्तु र दाङमा मात्र एक हजार बढी व्यक्तिमा संक्रमण देखिएको छ ।

कर्णाली प्रदेशका पनि सुर्खेत र दैलेखबाहेक अन्य जिल्लामा संक्रमित कम छन् । सुर्खेतमा दुई हजार र दैलेखमा एक हजारमाथि संक्रमित छन् ।

सुदूरपश्चिम प्रदेशका डोटी, अछाम र कैलालीमा मात्र एक हजारभन्दा बढीमा संक्रमण देखिसकेको छ ।

सरकारको उदासीनता र सर्वसाधारणको लापरबाहीका कारण संक्रमण बढेको भन्दै जनस्वास्थ्यविद् डा. शरद वन्त सक्रिय संक्रमितको उपचार र व्यवस्थापनमा अझैपनि ध्यान नदिने हो भने अवस्था निकै भयावह हुने खतरा बढेको बताउनुहुन्छ ।

परीक्षण, उपचार र अन्य सुविधा राम्रै भएपनि समग्र व्यवस्थापन सबल नहुँदा महामारी भयावह बन्दै गएको विज्ञहरुको भनाइ छ ।

यसैले महामारीको मारबाट पार पाउन विगतको कमजोरीबाट पाठ सिक्दै युद्धस्तरको योजना तयार गरी कार्यान्वयन तहमा लैजान ढिलाइ गर्नु हुँदैन ।

भिडियो हेर्नुहोस्