
काठमाडौं, असोज ३० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना संक्रमणको रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार महामारीको रोकथाम तथा नियत्रणका लागि गम्भीर नभएकोले दसैंलगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताउनुभएको हो ।
कांग्रेसले गठन गरेको कोभिड-१९ सम्बन्धी अनुगमन समितिले तयार पारेको प्रतिवेदन शुक्रबार बुझेपछि सभापति देउवाले दसैंलगत्तै संसदभित्र र बाहिर सशक्त विरोध गर्ने बताउनुभएको हो ।
कोरोना संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रुपमा फैलिएको उहाँले बताउनुभयो ।
सरकार संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काम गर्नभन्दा पनि भ्रष्टाचार गर्नमा तल्लिन रहेको पनि सभापति देउवाको आरोप थियो ।
औषधिको व्यवस्था, क्वारेन्टिन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटरलगायतको व्यवस्था गरी उपचार गर्नु सरकारको कर्तव्य भएको तर कुनैपनि काम जिम्मेवारीपूर्वक नगरेको सभापति देउवाको भनाइ थियो ।
नेपाली कांग्रेसका सहमहामन्त्री एवं कोभिड-१९ अनुगमन समितिका संयोजक प्रकाशशरण महतले सरकार नागरिकको स्वास्थ्य सुरक्षा र दैनिक जीवनमा परेको आर्थिक-सामाजिक कठिनाइप्रति संवेदनशील नभएको बताउनुभयो ।
कोरोनाका कारण नागरिक समस्यामा परेको भन्दै उद्धार र राहतको सुमचित व्यवस्था गर्न र देशको अर्थतन्त्रलाई बचाउन उहाँले आग्रह गर्नुभयो ।
कांग्रेसद्वारा गठित अनुगमन समितिले विभिन्न क्षेत्रका व्यक्ति विज्ञ र कोभिड-१९ रोकथाम तथा नियत्रणमा खटिएका व्यक्तिहरुसँग समन्वय गरी अनुगमन गरेको थियो ।
समितिले कोभिड-१९ संक्रमण समुदायस्तरमा फैलिँदासमेत सरकार गम्भीर नबनेको निष्कर्ष निकालेको छ ।
प्रतिक्रिया दिनुहोस्