८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्ती मनाइँदै


0
Shares

काठमाडौं । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

सरल नेपाली भाषामा अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनमा ठूलो गुन लगाएका थिए ।

उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा पाठ गरिन्छ ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए ।

१८७१ सालमा तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’, भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।

‘बधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । उनको निधन १९२५ साल असोजमा भएको थियो ।

यसैबीच तनहुँको भानु नगरपालिकाले भानुजयन्तीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

नेपाली भाषाका धरोहर भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।