
नारायण पौडेल
पृष्ठभूमी
वि.सं. २००१ सालमा तनहुँको रिस्तीस्थित बाहुन पोखराको किसान परिवारमा जन्मिएका रामचन्द्र पौडेल राजा महेन्द्रले बीपीको निर्वाचित सरकारलाई अपदस्थ गरी सक्रिय पञ्चायती व्यवस्था लागू गरेदेखि काँग्रेसको राजनीतिमा लागेका व्यक्ति हुन् । राजनीति थाल्दा उनी १७ बर्षका मात्रै थिए भने २०२७ सालमा नेविसंघ स्थापना हुँदा संस्थापक सदस्य रहेका पौडेल २०४० सालदेखि काँग्रेसको केन्द्रीय राजनीतिमा छाए । पञ्चायती व्यवस्था उत्कर्षमा पुगेका बेला २०४४ सालमा काँग्रेस केन्द्रीय सदस्य भएका पौडेल २०४८ सालमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित भएसँगै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पहिलोपटक स्थानीय विकासमन्त्री भएका थिए ।
वि.सं. २०५१ सालको मध्यावधी निर्वाचनमा तनहुँ क्षेत्र नं. २ बाट निर्वाचित भएका उनी त्यसपछि प्रतिनिधिसभाका सभामुख भए भने २०५६ सालमा पौडेल तनहुँ क्षेत्र नं. २ बाट पुनः निर्वाचित भई कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा उपप्रधान एवं शिक्षामन्त्री बनेका थिए । त्यसपछि भट्टराईलाई हटाएर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा पौडेलले उपप्रधान एवं स्थानीय विकासमन्त्रीको जिम्मेवारी पाएकोमा सोही बर्ष मन्त्रिपरिषद फेरबदल हुँदा उपप्रधानसँगै गृहमन्त्रीको जिम्मेवारी समेत पाए । त्यतिबेला स्थानीय विकास मन्त्रालय गोविन्दराज जोशीलाई दिएर उनले सम्हालेको गृह मन्त्रालय पौडेललाई दिईएको थियो ।
वि.सं. २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलन सफल भएसँगै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा शान्ति तथा पुननिर्माण मन्त्री भएका पौडेल २०६४ सालमा पार्टी उपसभापति बनेका थिए भने २०७२ माघ २६ गते तत्कालिन सभापति सुशील कोइरालाको निधन भएपछि कार्यवाहक सभापति बने । त्यसपछि वि.सं. २०७२ सालमै भएको नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका काँग्रेस वरिष्ठ नेता पौडेल गत निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा तनहुँ क्षेत्र नं. १ बाट पराजित भए । उनलाई हराउन विशेषगरी पार्टीका नेता तथा कार्यकर्ताहरुले नै महत्वपूर्ण भूमिका निर्वाह गरेको पौडेल बताउँछन् ।
वास्तविकता
नेपालमा पञ्चायति शासनव्यवस्थाको प्रारम्भसँगै सक्रिय राजनीतिमा होमिएका रामचन्द्र पौडेल नेपाली काँग्रेसका एक स्थापित नेता हुन् । उनी काँग्रेसको कार्यवाहक सभापतिदेखि सभामुख, उपप्रधानमन्त्री र धेरैपटक मन्त्री बनेर सँधै सत्ताको वरिपरि घुमिरहे । विशेषगरी उनी कोइराला परिवारको विश्वासपात्रका रुपमा रहँदै आएका एक शीर्ष नेता मानिन्छन् । त्यस्तै आफ्नो गृहजिल्ला तनहुँमा भन्दा केन्द्रको राजनीतिले बढी चिनिएका पौडेल काँग्रेसका नेताहरुमध्ये तर्क, वितर्क सहित टिप्पणी गर्न सक्ने र विपक्षीसँग खरो उत्रने नेता पनि हुन् ।
उनको बलियो पक्ष भनेको स्वच्छ छवि हो । किनकी उनी लामो समय शक्ति र सत्ता नजिक बसेपनि आर्थिक विवादमा मुछिएका छैनन् । साथै त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमा शास्त्रीसम्मको अध्ययन गरेका उनी काँग्रेसभित्रका एक अध्ययनशील नेता हुन् । बीपी कोइरालाको सानिध्यता र त्यागबाट प्रभावित भई राजनीतितर्फ आकर्षित भएका पौडेल पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण पटकपटक गरी १३ बर्ष भन्दा बढी जेल पर्नुका साथै प्रतिगमन विरोधी आन्दोलनमा अग्रपंक्तिमा रहँदा पछिल्लोपटक करिब एकबर्षसम्म नजरबन्दमा परेका थिए ।
प्रजातन्त्रप्रतिको निष्ठा र जनतासँगको अटुट लगावले आफूलाई राजनीतिमा विजयी बनाएको बताउने पौडेल संविधानसभामा गणतन्त्र संस्थागत गर्ने तथा लोकतन्त्र, मानव अधिकार, विधीको शासन, नागरिक सर्वोच्चता र प्रेस स्वतन्त्रता लगायतका मूलभूत विषयहरुलाई प्रमुखताका साथ उठाउने नेताका रुपमा गनिन्छन् । त्यस्तै अध्ययनमा विशेष रुचि राख्ने पौडेलका प्रजातान्त्रिक समाजवाद, नयाँ सन्दर्भमा समाजवाद, आस्थाका यात्रा लगायत आधा दर्जन भन्दा बढी कृतिहरु प्रकाशित समेत भईसकेका छन् ।
बीपीको प्रजातान्त्रिक समाजवादका व्याख्याता, वैचारिक व्यक्तित्व, भद्र तथा सालिन, मध्यमार्गी भूमिकामा अग्रणी, स्वच्छ छबी तथा अध्ययनशीलता जस्ता गुणहरुले भरिपूर्ण रामचन्द्र पौडेल नेपालमा आधुनिक कृषि क्रान्ति गर्नुपर्ने एजेण्डा बोकेका नेता पनि हुन् । किनकी नेपालको ७० प्रतिशत भन्दा बढी जनसंख्या अहिलेपनि कृषिमा नै निर्भर भएकाले बहुसंख्यक जनताहरुको आर्थिक उन्नतीका लागि कृषिलाई प्राथमिकतामा राखिनुपर्ने उनको धारणा सहितको प्रतिबद्धता रहेको छ । जसको कार्यान्वयन हुनसके नेपाली समाजमा आधुनिक कृषि प्रणालीले ठूलो फड्को मार्न सक्दछ ।
कमजोरी
विशेषगरी नेपाली काँग्रेसको राजनीतिमा अहिले पार्टी सभापति शेरबहादुर देउवाका कारण गत निर्वाचनमा पार्टीले अभूतपूर्व पराजय भोग्नुपरेको, पदाधिकारी मनोनयनका लागि दुई बर्षभन्दा बढी समय लगाएको, समयमा नै विभागहरु गठन गर्न नसकेको तथा महाधिवेशन कार्यतालिका सार्वजनिक भएपछि गरिएको विभाग गठन एकलौटी भएको, आफ्नो गुटको संरक्षण गरेर अरुलाई तेजोबध गरेको, विगतमा आफैंले सारेको एक व्यक्ति एक पदको अवधारणालाई स्वीकार नगरेको, पार्टीलाई निरन्तर कमजोर बनाउँदै लगेको तथा पार्टीलाई सत्तापक्ष जस्तो बनाएको देखिन्छ ।
पौडेलमाथि पार्टी सभापति तथा आफ्नै नेताहरुप्रति नकारात्मक कटाक्ष गर्ने, युवा प्रतिनिधित्वलाई महत्व नदिने, आफ्ना कमजोरीहरु औंल्याउन र सुन्न नसक्ने, आफू विशिष्ट स्थानमा रहेर पनि कहिलेकाँही निकृष्ट व्यवहार गर्ने वा बोल्ने, आफ्नै समूहमा सर्वमान्य नेता बन्न नसक्ने, गुटको संरक्षण गर्न नसक्ने, साँघुरो घेराभित्र रमाउने अनुदार नेता लगायतका विभिन्न आरोपहरु पनि लाग्दै आएका छन् ।
अहिले पार्टीभित्र आफूलाई बलियो रुपमा प्रस्तुत गर्न महामन्त्री डा. शशांक कोइराला मात्र नभई अन्य प्रभावशाली नेताहरुको समेत पौडेलले साथ पाएका छैनन् । तर पौडेललाई जति कमजोर पारिन्छ, प्रमुख प्रतिपक्षको भूमिकामा रहेको काँग्रेस त्यति नै कमजोर हुन्छ, भईरहेको छ । अर्कोतर्फ पौडेल कमजोर हुनुको विशेष लाभ मनमौजी शैलीले पार्टी सञ्चालन गरिरहेका सभापति देउवाले भरपूर रुपमा लिईरहेका छन् । जसले गर्दा पार्टीभित्रको प्रतिपक्षी निरिह बनिरहेको छ भने संस्थापन पक्ष एकलौटी तवरले अगाडि बढिरहेको छ । तर पार्टीभित्रको यस्तो किचलोको प्रत्यक्ष परिणाम वा प्रभाव आगामी निर्वाचनमा समेत देखिने स्पष्ट छ । जसले पार्टीको बढोत्तरी गर्दैन ।
त्यस्तै पौडेलले देउवा समूहमा नअटाएका, सिटौला समुहमा पाखा परेका, खुमबहादुर खड्काको निधनपछि एक्लिएका नेता तथा कार्यकर्ताहरु कसैलाई पनि आफ्नो पक्षमा पार्न सकेका छैनन् भने काँग्रेसका प्रभावशाली युवा नेताहरु समेत पौडेललाई विश्वास गर्ने र पार्टी नेतृत्वमा स्थापित गराउने सवालमा एकमत देखिँदैनन् । त्यसमाथि युवाप्रतिको दृष्टिकोणमा पौडेल त्यति सकारात्मक नभएको पनि बताईन्छ । तथापी अबको पार्टी नेतृत्व युवाहरुकै हातमा सुम्पनु पर्ने अभिव्यक्ति दिन यदाकदा पौडेल अगाडि नै देखिन्छन् ।
निष्कर्ष
रामचन्द्र पौडेल काँग्रेसमा ‘फस्टम्यान’ भन्दापनि ‘सेकेण्डम्यान’ का लागि निकै उपयुक्त पात्र हुन् भनेर बेलाबेलामा चर्चा पनि गर्ने गरिन्छ । तर फस्टम्यान हुनका लागि सेकेण्डम्यानको भूमिका बलियो रुपमा निर्वाह गरेकै हुनुपर्दछ । यसर्थ सेकेन्डम्यानको हैसियतमा पौडेलले काँग्रेसमा खेलेको भूमिकाकै आधारमा उनलाई पार्टी सभापति बनाउनुपर्दछ । अब पौडेल विगतमा काँग्रेसका नेताहरुले जसरी आफ्नो इतिहास रच्न सफलता प्राप्त गरे, त्यसरी नै आफूलाई सर्वमान्य वा सर्वस्विकार्य नेताका रुपमा स्थापित गर्न आफ्नो कमीकमजोरी सुधार गरी पार्टीलाई एकताबद्ध र बलियो बनाउने अभियानमा लाग्नैपर्ने देखिन्छ । नभए नेपाली काँग्रेस पार्टी विपक्षी दलका नेताहरुले भन्ने गरेजस्तो इतिहासका पानामा सिमित हुन धेरै समय लाग्ने छैन ।
पौडेल पार्टी पंक्तिलाई उर्जा दिने उच्च क्षमता राख्छन् । वि.सं. २०७० सालको दोस्रो संविधानसभा निर्वाचनअघि देशभर आफ्नो नेतृत्वमा रहेको नीति तथा प्रशिक्षण प्रतिष्ठान मार्फत बीपी जन्मशताब्दी र गणेशमान बलिदानी अभियान नामक पार्टी प्रशिक्षण तथा सुदृढिकरण कार्यक्रम लाई प्रभावकारी ढंगले चलाएकै कारण काँग्रेसको संगठन घरघरमा पुगी निदाएको काँग्रेसलाई जगाएर पहिलो बनाउन उनको भूमिका महत्वपूर्ण थियो । तर त्यसको जस पार्टीभित्र उनले कहिल्यै पाएनन् ।
नेपाली काँग्रेस पार्टी अहिले वैचारिक तथा सैद्धान्तिक रुपमा स्खलित भएको छ । यस्तो अवस्थामा आउँदो महाधिवेशन, पार्टीको संगठन, जनभावना र निर्वाचन समेतलाई मध्यनजर गर्दै पौडेल अब कुनै गुट संरक्षक नेताभन्दा पार्टी नेता बन्न अग्रसर भई पार्टीलाई जनभरोसा योग्य बनाउन लाग्नुपर्ने देखिन्छ । वास्तवमा रामचन्द्र पौडेल काँग्रेसभित्र एउटा विचारको प्रतिनिधित्व गर्ने नेता हुन् र उनी निर्वाचनमा हारेपनि वा पार्टी नेतृत्वमा नपुगेपनि उनको विचारमा काँग्रेस अघि बढिरहेको छ, बढ्नेछ । तथापी बीपी, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद, सुशील कोइराला लगायतको छहारीमा हुर्केका पौडेललाई देख्दा सुस्ताएका, मुर्झाएका र लखतरान परेका काँग्रेसीजनमा अझैपनि नयाँ उर्जा अवश्य प्राप्त हुन्छ ।
पौडेलमा गुटको नेतृत्व गर्ने क्षमता कमजोर भएकै कारण लामो समयदेखि कोइराला गुटको वर्चश्व रहेको काँग्रेसमा एकाएक देउवा गुट बलियो भएर शेरबहादुर देउवा पार्टी सभापति बन्न सफल भएका हुन् । यदि पौडेलमा गुटको नेतृत्व गर्ने अब्बल क्षमता भईदिएको भए र देउवा इतर सम्पूर्ण शक्तिहरुलाई एकैठाउँमा उभ्याउन उनी सफल भएको भए देउवा काँग्रेस सभापति बन्ने थिएनन् र आउँदो महाधिवेशनबाट पनि बन्न सक्दैनन् । तर देउवा इतर समुह एकैठाउँमा उभिनसक्ने अवस्था अझैपनि देखिएको छैन । त्यसैले काँग्रेस वरिष्ठ नेता पौडेलले उदारभाव देखाउँदै विशुद्ध रुपमा पार्टी बचाउन कुनै न कुनै रणनीतिक योजना ल्याउनै पर्दछ ।
विगतमा चप्पल पड्काउँदै काठमाडौ छिरेको आरोप लाग्ने गरेका पौडेलले सँधै चप्पल पड्काईरहनु पर्दछ भन्ने छैन । अब उनको नेतृत्वमा चप्पल लगाउने नेपाली जनताहरुले जुत्ता लगाउन पाउनुपर्दछ भने पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलन र काँग्रेसमा दिएको योगदानको उचित मूल्यांकन गर्दै काँग्रेस महाधिवेशन प्रतिनिधीहरुले उनलाई पार्टी नेतृत्वमा कम्तीमा एकपटकका लागि विराजमान गराउँदा कसैलाई पनि अन्याय हुँदैन ।
अर्कोतर्फ नेपाली राजनीतिमा मध्यमार्गी भूमिका निर्वाह गर्नसक्ने अगुवा नेताको पहिचान बनाएका पौडेल नेपाली काँग्रेसको पार्टी सभापति हुँदा समग्र काँग्रेसका नेता तथा कार्यकर्ता सहित शुभेच्छुक समेतले काँग्रेस भएकै वा काँग्रेसमा आस्था राखेकै कारण शिर झुकाउनु पर्ने अवस्था अवश्य आउने छैन भने पौडेलको नेतृत्वमा काँग्रेसको संगठन थप बलियो हुन नसकेपनि कमजोर पक्कै हुने छैन । यसर्थ पनि पौडेल काँग्रेसको पार्टी सभापति बन्दा या उनलाई पार्टी सभापति बनाउँदा समग्रमा काँग्रेस, जनता र मुलुक समेतलाई हित नै हुने देखिन्छ । (लेखक अधिवक्ता हुन्) ।
प्रतिक्रिया दिनुहोस्