१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्वाब दिएकाहरुको छट्पटी: चार दिनसम्म रिपोर्ट आएन, पहुँचवालाको तुरुन्तै


0
Shares

पोखरा । गण्डकी प्रदेश सरकारले स्वाब संकलनको २४ घण्टाभित्रै रिपोर्ट सार्वजनिक गर्ने दाबी गर्दछ । तर चार/चार दिनसम्म पनि कोरोनाको नमुना परीक्षण रिपोर्ट सार्वजनिक नभएको पाइएको छ ।

जसका कारण स्वाब दिएकाहरु नै बेचैन हुन थालेका छन् । प्रदेश सरकारको भनाइ र गराइमा एकरुपता हुन नसक्दा सर्वसाधारणहरु मारमा परेको गुनासो गरेका हुन् ।

पत्रकार प्रदीप पौडेलले अघिल्लो साताको शुक्रबार स्वाब दिए । उनको रिपोर्ट दुई दिनपछि अर्थात् आइतबार दिउँसो ४ बजे पोजेटिभ आयो । आफू संक्रमित भएको र पछिल्लो समय आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन सामाजिक सञ्जालमार्फत सूचित गर्दै उनी घरमै आइसोलेसन बसे । परिवारमा श्रीमती र छोरा छन् ।

कन्ट्याक्ट टे«सिङमा परेपछि आमाछोराले बाबुलाई संक्रमण पुष्टि भएको ५ दिनपछि मालेपाटनस्थित कृषि तालिम केन्द्रको भवन परिसर पुगेर गत बिहीबार स्वाब दिए ।

संक्रमण त्रासबीच रिपोर्ट के आउने होला ? भनी कुरिबसे । यसरी कुर्न थालेको चार दिन बितिसकेको छ । तर प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले रिपोर्ट सार्वजनिक गर्न सकेको छैन ।

उनकी पत्नी सञ्जु पौडेलले गुनासो गर्दै भनिन्, ‘सरकारले स्वाब दिएको केही घण्टामै रिपोर्ट सार्वजनिक गर्ने दाबी गरे पनि ४ दिन बितिसक्दा पनि रिपोर्ट दिन नसक्दा बेचैन भएका छौं । सूचनाबारे सहज पहुँच राख्न सक्ने संचारकर्मीकै घरपरिवारका सदस्यको यस्तो हालत छ भने सर्वसाधारणको के होला ?’

कोरोना संक्रमित प्रदीप पौडेलले ल्याब परीक्षणको सुस्तताले आफूलाई झनै तनाव उत्पन्न गराएको गुनासो गर्दछन् । आफू संक्रमित भए पनि परिवारका सदस्य वा कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको रिपोर्ट नेगेटिभ आइदिए हुन्थ्यो भन्ने आशा छ ।

तैपनि चार दिन बित्दा पनि रिपोर्ट सार्वजनिक गर्न नसक्ने प्रदेश सरकारको रवैयाले कोरोना संक्रमण न्यूनीकरण तत्काल हुन नसक्ने उनी ठोकुवा गर्दछन् ।

आफू कोरोना संक्रमित भएको र आइसेलेसनमा बस्न भनी सम्बन्धित व्यक्तिले जानकारी दिनुबाहेक हालसम्म संक्रमितकै अवस्था के कस्तो छ भन्नेबारेमा कुनै चासो नराखिएको उनले बताए ।

कन्ट्याक्ट ट्रेसिङमा परेर सोही दिन स्वाब दिएका अर्का पत्रकार शशि पौडेलको पनि ४ दिनसम्म पनि रिपोर्ट आइसकेको छैन । आफन्त तथा सहकर्मीहरुले पटक-पटक जिज्ञासा राख्ने गरे पनि रिपोर्ट सार्वजनिक नहुँदा जवाफ दिन नसकेको उनी बताउँछन् । आफूलाई कोरोना संक्रमणको लक्षण नदेखिए पनि रिपोर्ट नआउँदा कार्यक्षेत्रमा खटिन नसकेको गुनासो गरे ।

यता, ल्याब परीक्षणमा किन ढिलाइ ? भन्नेबारे जिज्ञाशामा गण्डकी प्रदेश स्वास्थ्य निदेशक एवं प्रदेशका कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोदबिन्दु शर्माले प्राविधिक स्वयम्लाई संक्रमण पुष्टि भएकोले ढिलाइ भएको दाबी गर्दछन् । उनका अनुसार क्षयरोग उपचार केन्द्रमा संचालित ल्याबका ३ जना प्राविधिकमा संक्रमण पुष्टि भएको हो ।

यता, प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले सामान्यतया ३६ घण्टाभित्रै आफूहरुले रिपोर्ट दिने गरेको बताउँछन् । उनले भने, ‘पोजेटिभ देखिएहरुको ३६ घण्टाभित्रै रिपोर्ट सार्वजनिक भै सक्छ, नेगेटिभ आउनेहरु धेरै हुने भएकोले पूरा विवरण चढाउँदा टाइम लाग्छ ।’

स्वास्थ्य निर्देशनालयका जिम्मेवार व्यक्तिहरुको भनाइलाई आधार मान्ने हो भने सोअनुरुप कार्य भएको पाइँदैन । पर्याप्त प्राविधिक अभावमा स्वाब थुप्रो लगाएर यतिका दिनसम्म राख्नुलाई जायज भने मानिँदैन ।

उच्च पदका तथा पहुँचवालाहरुको रिपोर्ट भने आजको भोलि आइसक्दा सर्वसाधारणको रिपोर्टमा ढिलाइले अझ सन्त्रास र जोखिम बढाएको महसुस हुन थालेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख सपना सुवेदीले हाल दैनिक १ हजार २ सय हाराहारीमा नमुना संकलन हुने गरेको र प्राविधिक जनशक्ति कमी भएकोले छिटो रिपोर्ट दिन नसकेको स्वीकारिन् । उनका अनुसार हाल दैनिक ६ सय हाराहारीमा मात्र स्याम्पल परीक्षण गर्न सकिएको छ ।

त्यस्तै, ल्याबमै कार्यरत् एक प्राविधिक सागर आचार्यले बिहीबार संकलित रिपोर्ट भोलि ९सोमबार० मात्र आउने बताउँछन् । उनले भने, ‘हामीहरु बिजी छौं । भोलिसम्म कुर्नुपर्छ ।’

पीसीआर परीक्षणको लागि स्वाब दिएकाहरुको पनि अनुगमन फितलो छ । उनीहरु कहाँ, कसरी, कुन अवस्थामा बसेका छन् भन्ने सरोकारवाला निकायले ध्यान दिन छोडेको छ ।

गण्डकी प्रदेश राजधानी पोखरामा हाल २ वटा ल्याबमा कोरोना परीक्षण हुँदैआएको छ । क्षयरोग उपचार केन्द्रको ल्याब सहित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ल्याबमा पीसीआर परीक्षण हुँदैआएको हो ।

तर मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले अन्य प्रदेको तुलनामा गण्डकीमा कोरोना जोखिम कम रहेको र नयाँ मेसिन जडानले २४ घण्टाभित्रै रिपोर्ट दिन सक्ने बताउँदै आएका छन् ।

हालसम्म ८० हजार बढी नमुना परीक्षणमा करिब ५७ सय जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये करिब ३५ सय जना निको भएका छन् भने ५० जनाको ज्यान गइसकेको छ ।