१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘जसपा’मा नेता व्यवस्थापनको सकस


0
Shares

काठमाडौं, कात्तिक ३ । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) घोषणा भएको छ महिना पूरा हुनै लाग्दा पनि जिम्मेवारी बाँडफाँट र संगठनात्मक संरचना समायोजनको काम आगाडि बढ्न सकेको छैन ।

केन्द्रीय कार्यकारिणी समितिका नेताहरुकै पदीय जिम्मेवारी बाँडफाँट हुन सकेको छैन भने केन्द्रीय कार्यसमितिसमेत गठन हुन सकेको छैन ।

वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्घोषका साथ पार्टी एकता गरेपनि जसपा समायोजनमै रुमल्लिएको छ ।

गत साउन २१ गतेदेखि लगातार चार दिनसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नेताहरुको पदीय जिम्मेवारी बाँडफाँट र सांगठनिक संरचना समायोजनको टुंगो लगाउन नसकेपछि अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेतात्रय अशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतोलाई जिम्मा दिएको थियो ।

तर, शीर्ष नेतृत्व नै पद तथा जिम्मेवारी बाँडफाँट र सांगठनिक संरचना समायोजन टुंगो लगाउन असफल भएपछि सोमबारदेखि सुरु कार्यकारिणी समिति बैठकको मुख्य एजेन्डा पनि यही बनेको छ ।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यको पद र जिम्मेवारी बाँडफाँटमै मुख्य विवाद छ । पार्टी एकता भएको छ महिना पूरा हुनै लाग्दा पनि केन्द्रीय कार्यसमिति गठन हुन सकेको छैन ।

नेताहरुको व्यवस्थापन गर्न चुनौती भएपछि ८०० सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने जसपाको तयारी छ ।

तत्कालीन राजपामा १३४ पदाधिकारीसहित ८१५ सदस्यीय केन्द्रीय समिति थियो भने तत्कालीन समाजवादी पार्टीमा २५ पदाधिकारीसहित ४३१ सदस्यीय केन्द्रीय समिति ।

नेताहरुको महत्वकांक्षाका कारण जसपामा नेता व्यवस्थापन नै मुख्य चुनौती देखिएको छ ।

नेता व्यवस्थापन हुन नसक्दा ५५१ सदस्यीय केन्द्रीय समिति, एक हजार १०० सदस्यीय संघीय परिषद्लगायत प्रदेश जिल्ला, क्षेत्र र वडा तहसम्म समायोजन अलपत्र परेको छ ।

तर, नेताहरु भने समायोजनको काम अलपत्र परेको स्वीकार्न तयार छैनन् ।

पार्टी निर्माणको मुख्य आधार सांगठनिक संरचना भएपनि जसपाले केन्द्रीय कार्यकारिणी समितिबाहेक कुनै संरचना खडा गर्न सकेको छैन ।

तत्कालीन दुई पार्टीबाट आएका नेताहरु सकभर आफ्नो वर्चस्व कायम होस्, नभएपनि शक्ति कमजोर नहोस भन्ने मानसकितामा छन् । यही मानसकिताले लामो समयसम्म पार्टी समायोजनको काम टुंगो लाग्न सकेको छैन ।

भिडियो हेर्नुहोस्