१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘सरकारको गैरजिम्मेवारपूर्ण कदम’


0
Shares

काठमाडौं, कात्तिक ४ । प्रमख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरुले कोभिड-१९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुुपर्ने बताएका छन् ।

नेता प्रकाशमान सिंहले सरकारले गरेको निर्णय संविधानविपरीत भएको टिप्पणी गर्नुभएको छ ।

उहाँले संविधानले ‘ग्यारेन्टी’ गरेअनुसार सरकारले नागरिकको जीवन र स्वास्थ्य सुरक्षा गर्न असफल भएकोसमेत बताउनुभयो ।

कोभिड-१९ संक्रमण बढ्दै गएको अवस्थामा सरकार पछाडि हटेर ‘आफ्नो उपचार आफैं’ गर्न भन्नु गैरजिम्मेवारपूर्ण कदम भएको उहाँले बताउनुभयो ।

नेता सिंहले सरकार कोरोना संक्रमण रोकथाम र नागरिकको जिउने अधिकारको विषयलाई बेवास्ता गर्दै गैरजिम्मेवाररुपमा प्रस्तुत भएको बताउनुभएको हो ।

यस्तो निर्णय तुरुन्त फिर्ता गरी कोरोना संक्रमणको स्थितिलाई तत्काल नियन्त्रण गर्न र नागरिकको उपचारको व्यवस्था मिलाउनसमेत उहाँले माग गर्नुभयो ।

अधिकारविपरीत निर्णय
कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले संविधानले दिएको आधारभूत स्वास्थ्यको अधिकारविपरीत सरकारले निर्णय गरेको बताउनुभयो ।

जिम्मेवारीबाट पन्छिने गरी आएको सरकारको निर्णय खेदजनक भएको पनि उहाँले बताउनुभयो ।

कांग्रेसले दशैंपछि सुरु हुने संसदको विशेष अधिवेशन र सडकमार्फतसमेत विरोध गर्ने उहाँले बताउनुभयो ।

सरकारमा बस्नेहरुले राज्यकोषलाई आफूखुसी खर्च गर्न हुने तर जनताको आधारभूत आवश्यकता पूर्ति गर्नतर्फ साधन-स्रोत भएन भनेर पन्छिनु गैरजिम्मेवारपूर्ण कदम भएको उहाँले बताउनुभयो ।