१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दशैंमा यी खानेकुरा नखाँदा उत्तम, के खाने ?


0
Shares

काठमाडौं, कात्तिक ४ । कोभिड-१९ संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्यवस्तु कम खान पोषणविद् डा. मनसा थापा ठकुराठीले सुझाव दिनुभएको छ ।

दशैंको समयमा छोटो अवधिमा धेरै प्रकारका खाद्यवस्तु खाँदा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने डा. ठकुराठीले बताउनुभयो ।

खासगरी दशैंमा माछा-मासु, पेयपदार्थ, गुलियो पेयपदार्थ, मिठाइजन्य वस्तुहरुको उपभोग बढी गरिने प्रचलन रहेकाले त्यसलाई कम गर्न उहाँको सुझाव छ ।

कोभिड-१९ संक्रमणसँग लड्न पनि खानेकुरामा विशेष ख्याल गर्नुपर्ने र दशैंको बेला ख्याल नहुनसक्ने भन्दै विशेष ध्यान दिन उहाँले जोड दिनुभएको छ ।

मासु र दही शरीरका लागि आवश्यक खाद्यवस्तु भएकाले पनि ठिक मात्रामा खान उहाँले आग्रह गर्नुभयो ।

तर, पेयपदार्थ, गुलियो पेयपदार्थ, मिठाइजन्य वस्तु नखाँदा सबैभन्दा राम्रो गर्ने उहाँको भनाइ छ ।

छोटो अवधिमा अनियन्त्रित किसिमबाट खानेकुरा खाँदा छिटो मोटोपन बढ्ने र त्यसले शरीरमा असजिलो ल्याउनेमात्र नभइ रोगव्याधिसमेत आउनसक्ने भएकाले ख्याल गर्नुपर्ने डा. ठकुराठीले बताउनुभयो ।

मोटोपन बढ्दा ब्लडप्रेसरमा उतार-चढाव हुने, मुटुमा समस्या आउनसक्ने, रगतमा चिनीको मात्रा बढ्नेलगायतका समस्या आउने भएकाले पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

दशैंका बेला मूला, काँक्रो, कागतीको सेवन दैनिकरुपमा गर्नपनि उहाँको सुझाव छ ।