
टक्सन, कात्तिक ४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिदै जाँदा सबैतिर थप आक्रामक देखिँदै आउनुभएको छ ।
अमेरिकी उच्च ओहोदामा रहेका र अतिसम्मान गरिने विज्ञ डा. एन्थोनी फाउचीप्रति उहाँले सोमबार आक्रोश व्यक्त गर्नुभएको छ ।
देशको पश्चिमी क्षेत्रको भ्रमणको तेस्रो दिनमा उहाँले चुनावी अभियानका क्रममा भोगेकामध्ये सबैभन्दा नराम्रो दबाब भोग्नुपर्यो ।
चुनावी अभियानका क्रममा उहाँले विवादास्पद र कतिपयले अतिमन नपराउने अभिव्यक्तिहरु दिनुभएको छ ।
फाउचीलगायतका विज्ञहरुमाथिको उहाँको अभिव्यक्ति सबैभन्दा विवादास्पद अभिव्यक्ति भएको छ ।
उच्च तहका विज्ञ फाउचीलाई उहाँले टीभीमा जाँदै बोलिरहने र देश र जनतालाई भाँड्ने, सरकारलाई असहयोग गर्ने पात्रको रुपमा चित्रित गर्नुभएको छ ।
‘फाउची र उनीहरुजस्तै अरु धेरैका कुरा सुन्दा-सुन्दा जनता आजित भइसकेका छन् । उनीहरु आफैंमा प्रकोप हुन्, उनीहरुका कारणले नै यहाँको अवस्था बिग्रिएको हो’-ट्रम्पले भन्नुभएको छ ।
त्यसैगरी, कोरोनाभाइरसकाबारेमा उहाँले दिनुभएको अभिव्यक्ति पनि आलोचित भइरहेको छ ।
‘म डराएको, आत्तिएको छैन’-टक्सन, अरिजोनालगायतका क्षेत्रमा जानुअघि पत्रकारहरुसँग उहाँले भन्नुभयो ।
‘मलाई लाग्छ, म आक्रामकरुपमा दौडिरहेको छु । म धेरै खुसी पनि छु । मैले राम्रो गरिरहेको छु र म सन्तोषजनक अवस्थामा छु’-उहाँले भन्नुभयो ।
उहाँले आफूहरुले जित्ने विश्वास र आधार देखिएको दाबी गर्दै आफ्नो फेरि जित हुने देखेर केही समूहहरु आत्तिएको टिप्पणी पनि गर्नुभयो ।
उहाँले यसअघि सन् २०१६ मा चुनाव लडेको बेलामाभन्दा अहिले सहज महसुस गरिरहेको र अहिले आफूहरु ठिक अवस्थामा रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्