१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रानीपोखरीको पुनःनिर्माण सम्पन्न, उद्घाटन बुधबार


0
Shares

काठमाडौं, कात्तिक ४ । पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन कात्तिक ५ गते बुधबार मध्याह्न १२ बजे हुने भएको छ ।

वि.सं. २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनःनिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन गर्न लागिएको सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले बताउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्नुहुने पनि मन्त्री श्रेष्ठले बताउनुभयो ।

२०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुनःनिर्माणको शिलान्यास गर्नुभएको थियो ।

मन्दिरको उद्घाटन पनि राष्ट्रपति भण्डारीबाट नै गर्न लागिएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

समग्रतामा रानीपोखरी जस्ताको तस्तै पुनःनिर्माण भइ उद्घाटन गर्ने अवस्थामा आइपुग्नुले वर्तमान सरकार पुनःनिर्माणप्रति कत्तिको चिन्तित छ भन्ने पुष्टि हुनेपनि मन्त्री श्रेष्ठले बताउनुभयो ।

यसअघि, गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनःनिर्माण गरिएको छ ।

वि.सं. १९९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनःनिर्माण गरिएको थियो । तर, फेरि रानीपोखरीलाई आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलीबाट निर्माण गरिएको हो ।

शिलान्यास भएको करिब पाँच वर्षपछिमात्र रानीपोखरी पुनःनिर्माणको काम सम्पन्न भएको छ ।