१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


दशैंमा सेतो टीका, पहिरन र परिकार पनि सेतै


0
Shares

काठमाडौं । नेपाली समाजमा अधिकांशले रातो रङ्गको टीका लगाउने गर्छन् । तर नेपालको दक्षिणी समथर सिमानामा बसोबास गर्ने आदिबासी थारु र पहाडमा बसोबास गर्ने केही आदिबासीहरुले चाडपर्वमा रङ्गीविरङ्गी टीका ग्रहण गर्दैनन् ।

प्राकृतिक सेतो रङ्गकै टीका ग्रहण गर्दछन् । थारु समुदायले दशैंमा अभिभावकबाट प्रसादकोरुपमा ग्रहण गर्ने टीका सेतो हुन्छ । चामलको पीठोको टीकासहित जमरा, बेबुरी (बाबरी) को फूल दशैंमा थारुले ग्रहण गर्छन् ।

अरुबेला दौनाबेबुरीको फूल प्रयोग नहुने हुनाले थारु समुदायले दशैंमा टीकासँगै विशेषरुपले ग्रहण गर्छन् । थारु समुदायकाले निधारमा मात्रै दशैंको टीका लाउँदैनन् । पाखुरा, घुँडा, पैतलामा समेत लाउँछन । यसको अर्थ निधार, काम गर्ने पाखुरा, घुँडा र पैतला बलियो होस् भन्ने मनोकामना गरिन्छ ।

थारु चेलीबेटीले सेतो रङको फरिया र गुन्यू लगाउने गर्छन् । चोली रंगीन हुने गरेपनि फरिया सेतो नै पहिरिने उहिल्यैदेखिको प्रचलन हो । दशैंमा नाचिने विशेषनाच सखियामा समेत नचनिया चेलीहरुले सेतो फरिया र गुन्यूको प्रयोग गर्छन् ।

आजभोलिका युवतिहरुले पुरानो संस्कारलाई खासै महत्व नदिएर पश्चिमा संस्कृतिको अनुशरण बढी गरेको देखिन्छ । अरु समुदायको देखासिकी गरेर रंगीविरंगी पहिरन लगाउन थालिएको छ । यद्यपि गाउँघरका अगुवाले अझै थारु सेतो पहिरनमै विशेष जोड दिनेगरेका छन् । सम्भवः भएसम्म सेतो फरियामै नचनियाहरुलाई सजाउने गरिन्छ

दशैंमा नभइनहुने परिकार हो ढिक्री । घरका सदस्यले परिकार खानुभन्दापहिले देवीदेवतालाई चढाउने प्रचलन छ । पितृ, देवतालाई पूजा गरिसकेपछिमात्र प्रसादकोरुपमा त्यसलाई ग्रहण गरिन्छ । ढिक्री परिकार नयाँ चामललेमात्र तयार पारिन्छ ।

दशैंमा बनाउने ढिक्रीकालागि चाँडै फल्ने धान रोपिन्छ । सबैको घरमा नयाँ चामल उपलब्ध नभए सापटी, पैंचो मागेर पनि काम चलाउने प्रचलन थारु गाउँमा छ । थारु समुदायको देवीदेवता पनि काठ, फलाम र माटोले निर्माण गरिन्छन् ।

मैया (भगवती), शिव पार्वती, घोडाको आकारसमेत काठ र माटाले निर्माण गरिएका हुन्छन् । त्यसैले थारु समुदायले आफूलाई प्रकृतिपूजक मान्छ । लक्की चौधरी indigenousvoice.com