
काठमाडौं । पूननिर्मित ऐतिहासिक रानीपोखरीको आज उद्घाटन हुदैंछ ।
यही असोज पहिलो साता पुर्ननिर्माण सम्पन्न भएको रानीपोखरीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
२०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्टपति भण्डारीले नै रानीपोखरी पुननिर्माणको शिलान्यास गर्नुभएको थियो ।
रानीपोखरी २०७२ सालको महाभूकम्पका कारण पूर्णरूपमा भत्किएको थियो ।
यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुननिर्माण गरिएको छ ।
१८९० साल को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो ।
तर फेरी रानीपोखरीलाई आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलीबाट निर्माण गरिएको हो ।
त्यसैले शिलान्यास भएको करिब ५ वर्षपछि मात्रै रानीपोखरी पुननिर्माणको काम सम्पन्न भएको छ ।
प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन १७२७ सालमा रानीपोखरीको निर्माण गराइएको शिलालेखमा उल्लेख छ ।
पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।
यता भूकम्पपछि पाँच वर्षसम्म हरेक वर्ष तिहारमा सर्वसाधारणले बालगोपालेश्वर मूर्तिलाई पोखरीमा रहेको पुलको मुखमा राखी दर्शन गर्ने गरेकोमा यस वर्षको तिहारमा भने सर्वसाधरणका लागि मन्दिर खुल्ला गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्