११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


नेपालमा थप पाँच कोरोना संक्रमितको मृत्यु


0
Shares

काठमाडौं । नेपालमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा रुपन्देहीका दुई र म्याग्दीका र गैडाकोटका एक जना छन् ।

रुपन्देही–११ का देवीनगरका ४७ वर्षीय पुरुष र वडा नं. १७ मोतिपुरका ८१ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको हो ।

असोज २४ गते संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका ४७ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताउनुभयो ।

यस्तै असोज २७ गते संक्रमण पुष्टि भएका ८१ वर्षीय पुरुषको पनि आज बिहान मृत्यु भएको डा. गौतमले जानकारी दिनुभयो । योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

उता म्याग्दीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्र्तगत कोभिड–१९ उपचार केन्द्रमा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५ वर्षीय पुरुषको गए राति मृत्यु भएको हो ।

असोज २९ गते संक्रमण भएपछि उपचार गराइरहेका उनको दुवै फोक्सोमा निमोनिया तथा मिर्गौलाको समस्यासमेत देखिएको अस्पतालले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । यस्तै नवलपरासी (बर्दाघाट सुस्तापूर्व) गैँडाकोटका ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजको कोभिड सघन उपचार कक्ष उपचारको क्रममा मृत्यु भएको छ ।

उता, कैलालीमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । होम आइसोलेसनमै बसिरहेका धनगढी उपमहानगरपालिका–२ का ६८ वर्षीय पुरुषको आज मृत्यु भएको हो ।

योसँगै कैलालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।