१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी दर्ता


0
Shares

काठमाडौं, कात्तिक ५ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

बुधबार महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उहाँको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आउँदो मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।

गएको चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो ।

पछि पटक-पटक साधारणसभा तथा निर्वाचनको मिति तोकिएपनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेका ‘लकडाउन’ तथा निषेधाज्ञाका कारण साधारणसभा हुनसकेको थिएन ।

गत वर्ष नै बागलुङ उद्योग वाणिज्य संघले ढकाललाई महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार प्रस्ताव गरेको थियो ।

पछि गत फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रम गरी ढकालले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको थियो ।

महासंघको चुनावका लागि उम्मेदवारहरुले बुधबार (आज)देखि मंसिर ४ गतेसम्म मनोनयनपत्र दाखिला गर्नसक्नेछन् । मनोनयन दाखिला इमेलबाटै गर्न सकिने र त्यसको सक्कल कागजागत मंसिर ४ गतेभित्र महासंघमा बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ ।