
चितवन, कात्तिक ५ । दशैं मान्न कारागार कार्यालय चितवनमा रहेका कैदीबन्दीहरुलाई प्रतिव्यक्ति ३०० रुपैयाँका दरले रकम उपलब्ध गराइएको छ ।
राज्यले चाडपर्व मान्न दिँदै आएको रकम उपलब्ध गराएको जेलर कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
कोभिड-१९ संक्रमणको जोखिम हुने डरले यसपटक बाहिरी मानिसलाई दशैंमा पनि कारागार परिसरमा प्रवेश निषेध गरिएको छ ।
राज्यले दिएको रकम पर्याप्त नभएपनि समूहमा मिलेर दशैं मनाउने तयारी कैदीबन्दीहरुले गरेका छन् ।
गलैंचा, मुढा, बाँसका सामग्री बनाएर आम्दानी गर्ने कैदीबन्दीहरुले यसपटक ‘लकडाउन’ले गर्दा कच्चासामग्री पाउन सकेनन् । उत्पादन भएका वस्तुले पनि बजार नपाउँदा उनीहरुले कम आम्दानीमै चित्त बुझाएका छन् ।
बाँचे पटक-पटक भेट्न सकिने भन्दै भरतपुरमा रहेका कैदीबन्दीले यसपटक आफन्तलाई पनि भेटघाटका लागि नआउन आग्रह गरेका छन् ।
तर, नयाँ लुगा लगाउने चाहनालाई मध्यनजर गरी प्रशासनले कात्तिक ४, ५ र ६ गते तीन दिन आफन्तलाई टाढैबाट भेट्ने दिने र आफन्तले दिएका कपडाहरु स्यानिटाइज गरेर लगाउन दिने व्यवस्था मिलाइएको जेलर काफ्लेले बताउनुभयो ।
कारागारमा पैसाबाहेक अरु खाद्यवस्तुहरु परिवारसँग पनि लिन निषेध गरिएको छ ।
कारागारमा हाल ५८ महिला र ६३१ जना पुरुष रहेका छन् । थप तीन आश्रित बालिकाहरु छन् ।
कारागारभित्र ३६ जनाले गलैंचा बुन्ने गर्दछन् । जसमा चारजना महिला रहेका छन् । अन्यले मुढा, बाँसका सामग्री बनाएर आम्दानी गर्ने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्