१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कर्णालीको छालले केन्द्रमा कम्पन !


0
Shares

kp oli prachanda

काठमाडौं, कात्तिक ५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध गत असोज २५ गते सत्तारुढ दल नेकपाकै ३३ मध्ये १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रदेशमा चर्किएको विवादले केन्द्रलाई तताएको छ ।

विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पटक–पटक छलफल भइसकेपनि निकास निस्किनुको सट्टा बल्झिँदै गएको छ ।

कर्णाली प्रदेशको विवाद समाधान गर्न मंगलबार बिहान बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफलको निष्कर्ष सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले विवाद समाधानका लागि चारबुँदे सहमति भएको जानकारी दिनुभयो ।

सल्लाहकार थापाकाअनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने, प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाउने मुख्यमन्त्रीको निर्णय बदर गर्ने, प्रमुख सचेतकमा नियुक्त सीता नेपालीको नियुक्ति पनि बदर गर्ने र अन्य विषयमा आपसी सल्लाहमा निर्णय लिने सहमति भएको उल्लेख थियो ।

तर, लगत्तै सामाजिक सञ्चालमार्फत् विज्ञप्ति जारी गरेर अर्का अध्यक्ष दाहालको सचिवालयले सहमतिलाई अस्वीकार गर्‍यो ।

दाहालका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले अध्यक्षद्वयबीच कर्णाली प्रदेश विवादबारे कुनै सहमति नभएको जानकारी दिए ।

दुवै अध्यक्षका सचिवालयले बाहिर आएको सूचना सही नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेपनि अध्यक्षद्वयको छलफलबारे उनीहरुले नै भ्रम छर्ने काम गरे ।

राजनीतिक विश्लेषक राजेन्द्र महर्जन सरोकार नै नभएको विषयमा केन्द्रले चासो देखाएको टिप्पणी गर्नुहुन्छ ।

हुन त विवाद समाधानको प्रक्रियाबारे नै अध्यक्षद्वयबीच नै मतभिन्नता छ । प्रधानमन्त्री एवं अध्यक्ष ओली प्रदेशको विवाद केन्द्रबाटै समाधान गर्नुपर्ने अडानमा हुनुहुन्छ भने अर्का अध्यक्ष दाहाल विवाद समाधान गर्ने जिम्मा प्रदेश कमिटी र प्रदेश संसदीय दललाई दिनुपर्ने अडानमा ।

विश्लेषक महर्जन नेकपाभित्र भइरहेको जतिपनि विवाद गुटको द्वन्द्व भएको जिकिर गर्नुहुन्छ ।

विवाद समाधान भन्दापनि अध्यक्षद्वय ओली र दाहाल केन्द्रमा आफ्नो शक्ति बढाउन लागिपरेका छन् ।

लामो समयको संवादहीनता तोड्दै अध्यक्ष ओलीले मंगलबार वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरी सहकार्यका लागि आग्रह गर्नुभएको थियो भने बुधबार अर्का अध्यक्ष दाहालले वरिष्ठ नेता नेपालसँग छलफल गर्नुभएको छ ।

प्रदेशको विवादलाई लिएर केन्द्रमा रस्साकस्सी हुन थालेपछि नेकपाभित्रका पुराना विवादसमेत बल्झने हो कि भन्ने शंका बढेको छ ।