१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘मानवअधिकार आयोगले कारबाही सिफारिस गरेका व्यक्तिमाथि मुद्दा चलाउनुपर्छ’


0
Shares

काठमाडौं, कात्तिक ५ । राष्ट्रिय मानवअधिकार आयोगका निवर्तमान अध्यक्ष अनुपराज शर्माले आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिहरुलाई सरकारले तत्काल मुद्दा चलाउनुपर्ने बताउनुभएको छ ।

विभिन्न समयमा अनियमितता गरेको, पदको दुरुपयोग गरेको तर कारबाहीका लागि सिफारिस हुँदासमेत पदको लाभ लिइरहेका व्यक्तिहरुलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत् तत्काल मुद्दा चलाउनुपर्ने शर्माले बताउनुभयो ।

मानवअधिकार आयोगले २०५७ जेठ महिनादेखि २०७७ असार महिनासम्म विभिन्न समयमा भएका घटनाका २८८ जना दोषीको नाम नै किटान गरी कारबाहीका लागि सिफारिस गरेको छ ।

निवर्तमान अध्यक्ष शर्माले आयोगले सिफारिस गरेका व्यक्तिहरुमाथि अनुसन्धान गर्नका लागि भएपनि मुद्दा चलाउनैपर्ने बताउनुभयो ।

मुद्दा दायर गर्दा दन्डहीनता घट्ने भएकाले पनि आयोगले सिफारिस गरेका व्यक्तिहरुमाथि मुद्दा चलाउनुपर्ने उहाँको भनाइ छ ।

पछिल्ला केही समययता जिल्ला अदालतबाट छिनिएका जघन्य अपराधका सरकारवादी मुद्दाहरु माथिल्लो तहमा अपिल नहुने गरी फैसला गर्ने र मिलापत्र गराउने गरेको पाइएको शर्माले बताउनुभयो ।

राज्यले चलाउनुपर्ने गम्भीर प्रकृतिका मुद्दामा मिलापत्र गराउने प्रवृत्ति रहेको उल्लेख गर्दै निवर्तमन अध्यक्ष शर्माले त्यस्ता व्यक्तिमाथिसमेत कारबाही हुनेगरी आयोगले सिफारिस गरेको बताउनुभयो ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दन्डहीनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

संविधानले मानवअधिकारको अवधारणालाई प्रष्टसँग स्थापित गरेको भएपनि त्यसलाई अपनत्व लिनेगरी कसैलेपनि काम गर्न नसकेको उहाँको भनाइ छ ।