१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना संक्रमणबाट बच्न गर्भवती महिलाहरुले के गर्ने ?


13
Shares

-डा.अरुणा कार्की(प्रसूती तथा स्त्री रोग विशेषज्ञ)
गाइनो प्रमुख, काठमाडौं मोडल अस्पताल, बागबजार

गर्भवती एवं सुत्केरी अवस्थामा शरीरको प्रतिरक्षात्मक क्षमता तुलनात्मकरुपमा कम हुने भएकाले कोरोना संक्रमण फैलिरहेको यो अवस्थामा धेरै सचेत हुनु आवश्यक छ ।

गत चैतमा सिन्धुपाल्चोककी एक सुत्केरीको मृत्यु भएपछि धेरै गर्भवतीहरुलाई चिन्ता बढेपनि चिन्ता लिइरहनु पर्दैन । आफैं सचेत र सुरक्षित रहने प्रयास गर्नुपर्छ ।

विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले ४० हप्ताको गर्भ अवधिमा कम्तीमा चारपटक गर्भ जाँच र संस्थागत सुत्केरी गराउनुपर्नेमा जोड दिएपनि कोरोनाको संक्रमणलाई मध्यनजर राख्दै घरमै बसेर पनि सचेतना अपनाउन सकिन्छ । वर्तमान प्रतिकुल अवस्थामा स्वम सावधानी नै महत्वपूर्ण कुरा हो ।

आफ्नो गर्भावस्था सबै ठीकठाक नै चलिरहेको छ भने केही समय नियमित गर्भ जाँचको लागि अस्पताल वा स्वास्थ्य संस्था गइरहनुपर्दैन तर गर्भवती जाँचको संख्यामा तल–माथि वा चेकअपका लागि ढिलो–चाँडो भएमा डाक्टरसँग परामर्श चाहिं अवश्य लिनुपर्छ । यहाँ केही जानकारी प्रस्तुत गरिएको छ :
–कोरोना संक्रमण समूदाय स्तरमा पनि फैलिसकेकाले विशेषत आफ्नो परिवारबाट को बाहिर गएर वा आएको छ, सरसफाइमा कतिको ध्यान दिएको छ त्यसमा ख्याल गर्नुपर्छ ।

–नियमित चेकअपमा आइरहेका गर्भवतीमा पनि कोरोना पोजेटिभ देखिरहेको छ । खास परिवारका सदस्यकै कारण संक्रमण फैलिएको हो । गर्भवती आफू कहिं नगएको भएपनि परिवारका सदस्यहरु कहाँ कहाँ पुगेर आइरहेका छन ध्यान दिनुपर्छ ।

–संक्रमणबाट जोगिने उपाय भनेको विशेषत सरसफाइ नै हो । नियमित रुपमा हात धुने, स्यानिटाइजर लगाउने र मास्क अनिवार्य प्रयोग गर्ने गर्नुपर्छ ।

–यतिबेला कोरोना संक्रमणको जोखिम भएकाले समस्या पर्दा मात्र अस्पताल आउनुपर्छ नत्र घरमै बसेर स्वास्थ्यका ख्याल गर्नुपर्छ ।

–परिवारका सदस्यहरु घर छिर्नुअघि साबुन पानीले अनिवार्य हात धुने, स्यानीटाइजर लगाउने गर्नुपर्छ ।

–ग्लोब्स वा पन्जा मात्र लगाएर हिड्दा मात्र संक्रमणबाट बच्न सकिन्न । हात त अनिवार्य धुनैपर्छ ।

–हिडडुल गर्दापनि समय समयमा स्यानिटाइजर लगाउने गर्नुपर्छ ।

–गर्भवती महिलाहरुले घरमा आरामसँग बस्ने, घरकै वरपर हिंडडुल गर्ने गर्नुपर्छ ।

–प्रशस्त आहार वा भिटामिनजन्य खानेकुराहरु खाने गर्नुपर्छ ।

–नाक र मुखबाटै भाइरस छिर्ने भएकाले सुत्केरी महिलाले मास्क अनिवार्य लगाउनुपर्छ ।

–आफ्नो आफन्त, साथीहरुलाई कोरोना संक्रमण छैन भनेर भर पर्नु हुँदैन । सचेत आफैं हुनुपर्छ ।

–गर्भवतीहरुले धेरैजसो खानपानमा नै ख्याल गर्नुपर्छ । प्रतिरक्षा क्षमता बटाउने खानेकुरा खानुपर्छ ।

–यदि सुगर वा अन्य रोग भए भए त्यस्ता विरामीका लागि बन्देज गरिएका खानेकुरा खान कम गर्नुपर्छ । ब्यालेन्स डाइट खाने गर्नुपर्छ ।

–गर्भवती एवं सुत्केरी अवस्थामा शरीरको प्रतिरक्षात्मक क्षमता तुलनात्मकरुपमा कम हुनेभएकाले माछामासु वा सागसब्जी, गेडागुडी जस्ता खानेकुरा ब्यालेन्समा राखेर प्रशस्त खानुपर्छ ।

–कोरोना संक्रमणका कारण आफ्नो गर्भेशिशुलाई कुनै खतरा छ कि भन्ने थाहा पाउन यसअघि आफूले नियमित गर्भ जाँच गराइरहेको प्रसूति रोग विशेषज्ञ वा स्वास्थ्यकर्मीसँग स्काइप, भाइबर, मेसेन्जर वा फोनबाट नियमित सरसल्लाह लिइरहनु राम्रो हुन्छ ।