
–देवी सापकोटा
काठमाडौं । युवा जमात हो हल्ला मात्रै गर्छ भन्ने तप्कालाई युवाले महामारीमा कसरी एकजुट हुनुपर्छ भन्ने जवाफ दिएका छन । सरकार तथा राजनीतिक दलका कार्यकर्ताले निर्बाह गर्नुपर्ने दायित्व यतिवेला स्वतःस्फूर्त जुटेका युवा जमातले लिएका छन । सार्वजनिक स्थल नजिकै खानाको लाइनमा बस्नेहरुका बारे प्रशासन बेखबर जस्तै छ । युवाहरुको समूहले सडकमा अलपत्र परेकालाई माक्स बितरण गर्नदेखि खाना खुवाउने अभियान नै चलाइरहेका छन ।
पहिलो लकडाउनको भोलिपल्ट देखिनै उनीहरु खटिएका हुन । सरकारले घोषणा गरेको लकडानको दोस्रो दिनदेखि नै अन्योल कायम थियो । गुजारा चलाउँदैं आएकाहरुको काम ठप्प भएपछि आम मजदुरी गर्नेहरुको दैनिकी थप कष्टकर बनेसंगै उनीहरुले अलपत्र परेकाहरुको दैनिकीलाई सहज बनाउने उपाय खोज्न जुटे ।
सरकारले सूचना संयन्त्रलाई प्रभावकारी बनाउन सकेन उसले हतारमा निर्णय लियो । हतारमा लकडाउन घोषणा भएसंगै उपत्यकाबाहिरबाट श्रम तथा रोजगारका लागि आएकाहरुको दैनिकी एकाएक उथलपुथल हुन पुग्यो ।
यस्तो बिषम परिस्थीतिमा सबैले बाच्न पाउनुपर्छ भन्ने मुल मन्त्रका साथ युवाहरु खाद्यन्न जुटाउन लागिपरे । उपत्यकाका तीन जिल्लामा मात्र होइन झापा, बारा चितवन,नवलपुर, रुपन्देही, बाँके लगायत देशभरबाटै युवाहरु खाना जुटाउने अभियानमा छन । पानीको बोतल, माक्स, तयारी खाना बितरण गर्दै आएका युवाले अहिले फुड बैंकको अवधारणालाई पनि व्यापक बनाउँदै लगेका छन ।
भोककै कारण केही बटुवाले सड्क छेउमै मृत्युवरण गरेको दु.खद समाचारले युवालाई थप निर्णय लिन बाध्य बनायो । केन्द्र सरकार र स्थानीय सरकारले पनि कम आय भएकाहरुलाई खाद्यान्न तथा राहत बितरणका लागि खासै चासो दिएन । अहिले दैनिक हजारौं बटुवा र विपन्न मजदुरहरु खाना खाने पालो कुरेर बसेका भेटिन्छन । खानाको पालो कुर्दै लाइनमा बस्नेहरु सबैको एउटै आवाज छ ‘रोग भन्दा ठूलो भोक रहेछ’ देशका दर्जनौ स्थानमा संचालित यस्ता अभियानमा एकाध स्थानीय प्रतिनिधीहरुले अभियानमा सहयोग गरेका छन भने धेरै जसो युवाहरुले आफ्नै पहलमा खाद्यन्न जुटाउदैं आएका छन । देशलाई संकट परेको बेलामा प्रशासनलाई सघाउन जुटेका उनै युवाहरुलाई प्रशासनले नै खेदेकोमा भने उनीहरु दुखित छन ।
दुखित छन युवा अभियान्ताहरु
ज्याला मजदुरी गर्दै आएकाहरुको दिनचर्या सहज होस भनेर केहि युवाले खाद्यान बितरणका अभियान नै चलाएका छन । बालसारथी नेपाल, देउराली समूह, हुनेले दिएर जाउँ नहुनेले लिएर जाउँ अभियान, हन्डेड्र ग्रुप, मिरमिरे युवा समाज, मिन्ज फाउण्डेसन लगायतले पटक पटक थपिएको लकडाउन र निषेधाज्ञाका कारण समस्यामा परेका नागरिकलाई निःशुल्क खाना र अन्य अति आवश्यक सामग्री बितरण गर्दै आएका छन ।
पटक–पटक थपिएको लकडाउन र निषेधाज्ञाले तत्काल अवस्था सामान्य बन्नेमा आम सर्वसाधाण ढुक्क हुन सकेका छैनन् । संचय गरिएको खाद्यन्न सकिएको छ । बचत पनि खाएरै सकियो । अबको दैनिकी अझै जटिल हुने आम श्रमिकहरुको दुखेसो छ । कोरोनाको प्रभाव सुरु भएसंगै धेरैको रोजीरोटी गुम्यो । उपत्यकामा मात्रै पाँचलाख बढी अनौपचारिक क्षेत्रमा काम गर्दै आएका श्रमिकहरुको श्रम अहिले प्रभावित भएको छ ।
खाद्यन्न बितरणमा सहयोग गर्ने मनकारी बढेको अभियन्ताहरुको अनुभव छ । जन्म दिन, तिथीहरुका दिनमा मनकारीहरुले फोन गरेर खबर गर्ने गरेको हन्डेड्र गु्रुपका अध्यक्ष बब्लु गुप्ता नेपालीले जानकारी दिए । यो सुमुहले पछिल्लो चरणमा पशुपति क्षेत्रमा पनि १५० बढीलाई बिहानको खाना खुवाउदैं आएको छ ।
देशभर ३२ सय सदस्य छन यो ग्रुपमा । १२ वटा जिल्लामा युवाहरु सक्रय रुपमै लागेका छन । देशभर छरिएर रहेका युवाले कपडा बैंकको अभियानसंगै तातो खाना अभियानलाई अघि बढाएको हो । यो समुहले विभेद, समाजमा भएका गलत अभ्यासका बारेमा जनचेतना समेत जगाउदैं आएको ग्रुपका बिवेक ढकालले जानकारी दिए ।
गौशाला स्थित बिजयचोकमा रहेको विजयचोक युवा क्लब चैत्र १८ देखि बटुवा र मजदुरहरुको सहगोगमा जुट्यो । लकडाउन सुरु भएको दिनदेखि पहिलो चरण लगातार ७५ दिनसम्म उनीहरुले त्यस क्षेत्रका बटुवा र मजदुरहरुलाई दैनिक खाना खुवाउन सुरु गरे । २ सय ५० देखि एक पटकमा ४ सय जनासम्मलाई उनीहरुले खाना खुवाउँथे । लकडाउनको तेस्रो महिनापछि भने समुह आर्थिक समस्याबाट गुजरिनु परेको क्लबका सचिव सन्तोष कुमार नेपालले सुनाए । उनले यो अभियानबारे बताउँदै भने ,‘दोस्रो चरणमा फेरी हामीले स्थानीय स्तरमा सहयोग जुटाउन थाल्यौं । अहिले हाम्रो अभियानमा गौशाला क्षेत्रका अन्य समुहहरु पनि आबद्ध छन ।’
युवाहरुले स्थानीय इम्यानुयल क्याटरिङलाई सहगोगका लागि आग्रह गरे । लकडाउनका कारण क्याटरिङ पनि संचालन नभएकोले उनीहरुलाई खाद्यन्न पकाउने भाडाहरु इम्यानुयल क्याटरिङले उपलब्ध गरायो । शिक्षा संस्कार स्कुलले खाना पकाउने ठाउँ उपलब्ध गराइदिए ।
यस्तै सुभारम्भ युवा क्लबका संयोजक गुणराज प्याकुरेलले कोरोना कहरमा सबैले सबैलाई सहयोग गर्नुपर्छ भन्ने सहयोगी भावनामा साथीहरु एक जुट भएकाले अभियान यो अवस्थामा आइपुगेको बताउँछन । गुणराज लगाएतका केही युवा साथीहरुले धरानबाट सुरु गरेको ‘हुनेले दिएर जाउ, नहुनेले लिएर जाउँ’ अभियान अहिले उपत्यकासंगै देशका विभिन्न ठाउँमा बिस्तार भएको छ ।
गाँस खोसिएका बासको टुङगो नभएका दैनिक ज्यालादारी गर्नहरुलाई आफूहरुले सक्दो सहयोग गर्नु आफ्नो कर्तव्य भएको युवा अभियन्ताहरु बताउँछन । कोरोना संक्रमणको त्रास झनै थपिदो क्रममा छ । मजदुरीका लागि दुरदराजबाट शहर भित्रिएका केहीले त पुनः शहरबाट गाउँको बाटो तय गरिसकेका छन् । केही भएपनि काम पाइन्छ कि भनेर आशा गरेर शहर मै बसेकाहरु पनि अहिले कामबिहीन भएका छन ।
ज्यालादारी गरेर परिवार पाल्दै आएका मजदुरहरुलाई आवश्यक खाद्यान्न जुटाउनु आफ्नो कर्तव्य ठानेका छन यि अभियान्ताहरुले । अवस्था सहज छैन, आर्थिक सहयोग कम भएपछि केही समय थोरै संख्यामा बटुवाहरुलाई खाद्यान्न बाड्ेका उनीहरु मनकारीको खोजीमा जुटिरहेका छन् ।
पशुपति क्षेत्रका युवा क्लबहरुले हाल बिहानको समयमा पशुपति क्षेत्रमा रहेका अलपत्र परेका श्रमिक र बटुवाहरुलाई खाना खुवाउँदै आएका छन भने दिउँसो ४ बजे पछि बागमती पुलको खुला चौंरमा भेला भएका रोजगार बिहीन मजदुरहरुलाई खाना खुवाउँदै आइरहेका छन ।
मिन्ज खान पेशाले होटल व्यवसायी हुन । ठमेलमा होटल चलाउँदै आएका खानको महिनौंदेखि बन्द भएको होटलको भान्सामा हिजोआज भेज बिरयानी पाक्ने गरेको छ । ठमेल, बसन्तपुर क्षेत्रमा अलपत्र परेका बटुवालाई खानाको बक्स बितरण गर्दै उनको दिनचर्या बित्छ । खानले शोकलाई शक्तिमा बदले प्रयत्न गरिरहेका छन । अलपत्र व्यवसायको प्रवाह नगरी सडकका मानिसहरुलाई सहयोग गर्ने खान जुटिरहे । केहि बर्ष अघि मात्रै क्यान्सरको उपचारका क्रममा बुबा गुमाएपछि जीवनका बारेमा खानको बुझाई फेरिएको छ । अफठ्यारोमा परेका जोकोहिलाई सहयोग गर्नुपर्छ भन्ने भाव बुबाबाट सिकेको उनको भनाई छ ।
स्वदेशी मात्र होइन अलपत्र परेका धेरै विदेशीहरुलाई पनि उनले खाना बितरण गरे । अहिलेसम्म आईपुग्दा २० हजार बढीलाई खानले लन्चबक्स बितरण गरिसकेका छन । सुरुवातका दुई महिना खानको व्यक्तिगत प्रयासले नै खाना खुवाउने अभियान चल्यो । अहिले उनको अभियानमा धेरैले साथ र सहयोग गरेका छन । उनलाई हौसला प्रदान गर्नेहरुको संख्या बढेको छ ।
कोरानाको महामारीमा बालसारथी नेपाल र देउराली समुहले संयुक्त रुपमा मिलेर शान्ति बालगृह लगायतका बालगृहहरुलाई खाद्यन र आवश्यक सामग्री बितरण गर्दै आएका छन् । देउराली समुहकी संयोजक सुचित्रा श्रेष्ठले बालगृहमा बसोबास गर्न बालबालिकाका अभिभावकलाई खाद्यन बितरण गरेको जानकारी गराउँदै भनिन ‘यस्ता अभियान कुनै एकजनाले मात्रै सम्भव हुँदैन, यहाँ सयौं हजारौं सहयोगीहरुको हात छ ।’ कोरोनाको प्रभाव लम्बिदै गर्दा यो अभियानलाई अझै कसरी प्रभावकारी बनाउने भन्नेमा थप चुनौती रहेको उनको अनुभव छ ।
उनको समुह लकडाउन सुरु भएको केहि दिनपछि नै खाद्यन बितरणमा खटिएको थियो । दैनिक दुई हजारजनासम्मलाई यो समुहले खाना बितरण गर्दै आएको छ । बिहानको समय कोटेश्वर महादेवस्थान र बेलुका नैकापमा यी समुहले खाना वितरण गर्ने गरेका छन् । लगातार ७१ दिनसम्म खाना बितरण गरेको यो समुहले अब अभियानलाई अझै प्रभावकारी कसरी बनाउने भनेर अभियानमा साथ दिने सहयोगीहरुसंग हातेमालो गर्ने बताउँछन् ।
त्यस्तै राष्ट्रिय लोक दोहारी प्रतिष्ठाका कलाकारहरुले नारायणी नदी किनारमा खाना खुवाउदैं आएका छन । चितवनका अन्य युवाहरुले पनि मृत आफन्तहरुको तिथि पारेर ‘भोकालाई भोजन’ अभियानलाई निरन्तरता दिएको पत्रकार डिपी उपाध्याले सामाजिक संजालमा लेखेका छन ।
लम्बिदो लकडाउन र संक्रमितको संख्या बढ्दै गर्दा सरकारलाई साथ र सहयोग पुग्ने भन्दै यस्ता अभियानलाई निरन्तरता दिएको अभियानताहरु बताउछन । प्रशासनले भौतिक दुरी र आवश्यक गुणस्तरलाई ख्याल गर्न पनि अभियानताहरुलाई आग्रह गर्दै आइरहेको छ । अवस्था जटिलतातर्फ धकेलिदैं गर्दा सरकारले पनि आयस्रोत कमजोर बन्दै गएको बर्गलाई केहि भए पनि खाद्यान्न र आर्थिक सहयोग गर्ने हो भने चाडपर्वको मुखमा थोरै भए पनि उनीहरुले राहतको महसुस गर्ने पाउने थिए ।
प्रतिक्रिया दिनुहोस्