
चितवन, कात्तिक ६ । चितवनको भन्डारामा मकैको खलियामा लुकाइराखेको लाखौं नक्कली रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका–८ का २६ वर्षीय जितबहादुर लोप्चनले लुकाइराखेको तीन लाख २१ हजार नक्कली नोट बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तिराज गुरुङले तीन लाख २१ हजार नक्कली नोटसहित गएको मंगलबार भन्डाराबाट लोप्चनलाई पक्राउ गरिएको बताउनुभयो ।
बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले लोप्चनलाई सार्वजनिक गरेको हो ।
भन्डाराको एक पसल र खाजाघरमा लोप्चनले बुझाएको एक हजारका सातथान नोट प्रहरीले बरामद गरेपछि उनी नक्कली नोटको कारोबारी रहेको खुल्न आएको थियो ।
पक्राउपछि लोप्चनकै घरभित्र मकैको खलियामा प्लास्टिकले बेरी लुकाएको एक हजार दरका थप ३०२ थान नक्कली नोट प्रहरीले बरामद गरेको हो ।
अनुसन्धानकाक्रममा नक्कली नोटको कारोबारमा संलग्न अरु दुईजनाको पहिचान भएको र उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्