१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दशैंको शुभकामनामा पुरानै नक्साः ‘सत्ता जोगाउन लेनदेनको खेल त भइरहेको छैन ?’


0
Shares

काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पश्चिमात्तोर भू–भाग नसमेटिएको पुरानै नक्सा प्रयोग गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् दिएको बडादशैंको शुभकामना सन्देशमा लिम्पियाधुरा, लिपुलेक, कालापानी भू–भाग नसमेटिएको पुरानै नक्सा प्रयोग गर्नुभएको छ ।

शुभकामना सन्देशमा पुरानै नक्साअंकित निशान छापको प्रयोग भएपछि सामाजिक सञ्जाललगायत चौतर्फी विरोध भएको छ ।

गत जेठ ३१ गते संघीय संसदले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक, कालापनीलगायत नेपाली भू–भाग समेटेर अद्यावधिक गरेको नक्सालाई सदनबाट पारित गरेको थियो ।

अद्यावधिक नक्सा पारित भएसँगै नेपालको निशान छापमा सो नक्सा अंकित गरिएको थियो भने सरकारी कार्यालयलगायत निशान छाप प्रयोग हुने ठाउँमा लिम्पियाधुरा समेटिएको नक्सा नै प्रयोग हुँदै आएको थियो ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिएको दशैंको शुभकामनामा पुरानै नक्साअंकित निशान छाप प्रयोग गर्नुभएको छ ।

बुधबार भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको रहस्यमयी नेपाल भ्रमण र त्यसको पर्सिपल्ट स्वयं प्रधानमन्त्रीले पुरानै नक्सा प्रयोग गर्नुले विभिन्न शंका उब्जिएको छ ।

पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले ‘सत्ता जोगाउन लेनदेनको खेल त भइरहेको छैन ? भन्ने गम्भीर शंका उत्पन्न भएको’ टिप्पणी गर्नुभयो ।

कतिपयले पुरानो नक्सा प्रयोगलाई प्रधानमन्त्रीको सचिवालयको त्रुटि हुनसक्ने भनेर अर्थ लगाएपनि पूर्वपरराष्ट्रमन्त्री डा. लोहनी ‘नियतवश नै पुरानो नक्सा प्रयोग’ भएको जिकिर गर्नुहुन्छ ।

प्रधानमन्त्रीले नै लिम्पियाधुरा नसमेटिएको पुरानै नक्सा प्रयोग गरेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गम्भीर विमति प्रकट गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत् ‘संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा विसर्जन भएको हो ?’ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्नुभएको छ ।

ट्वीटरमार्फत् प्रधानमन्त्री ओलीलाई ‘मेन्सन’ गर्दै प्रवक्ता शर्माले अगाडि लेख्नुभएको छ-‘लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननीय प्रधानमन्त्रीज्यू, ‘गम्भीर विमती दर्ज होस् ।’

प्रधानमन्त्रीको शुभकामना सन्देश पुरानै नक्सा प्रयोग भएपछि सामाजिक सञ्जालमा पनि विरोध देएिको छ ।

तर, प्रधानमन्त्रीको सचिवालयले भने त्रुटि सच्याउनको सट्टा नक्सा सानो भएकाले नयाँ नक्साको सम्पूर्ण भाग नदेखिएको प्रतिक्रिया दिएको छ ।