१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वीरगन्ज महानगरपालिकाको फोहरबाट मोहर बनाउने महत्वाकांक्षी योजना


0
Shares

वीरगन्ज, कात्तिक ९ । वीरगन्ज महानगरपालिकाको फोहरबाट मोहर बनाउने महत्वाकांक्षी योजना सफल हुने भएको छ ।

वीरगन्जमा निर्माण भइरहेको फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि योजना सफल हुने भएको हो ।

पटक-पटक समय थपिँदै गएपनि एसियाली विकास बैंकको आर्थिक सहयोगमा वीरगन्ज महानगरपालिकामा निर्माण भएको फोहर व्यवस्थापन केन्द्रको निर्माणकार्य पूरा भएको छ ।

वर्षौंदेखि फोहर व्यवस्थापनको समस्या झेल्दै आएको महानगरपालिकाको फोहरबाट मोहर बनाउने योजना सफल हुने भएको हो ।

वीरगन्जको नगवामा १६ बिघा १० कठ्ठा क्षेत्रफलमा निर्माण भएको फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि सहरको विभिन्न क्षेत्रमा गरिँदै आएको अव्यवस्थित फोहर व्यवस्थापन कार्यसमेत बन्द भएको छ ।

महानगरपालिकाबाट संकलित फोहरलाई सुरक्षित व्यवस्थापन गर्ने स्थान अभावका कारण सिर्सिया नदीकोे किनार तथा अन्य खुला स्थानमा दैनिक ७० मेट्रिकटनभन्दा बढी फोहर उत्सर्जन गर्ने गरिएको छ ।

करिब ४७ करोड ८० लाख रुपैयाँकोे लागतमा निर्माण भएको व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि फोहर व्यवस्थापनसँगै महानगरपालिकाले फोहरबाट मोहर कमाउने योजना बनाएको हो ।

नगरक्षेत्रबाट संकलन गरिएको फोहरलाई १६ ओटा ट्याक्टर र तीनओटा ट्रकबाट सोझै व्यवस्थापन केन्द्रमा लगी सुरक्षित व्यस्थापन गर्न थालिएको नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिनुभयो ।

उहाँले नगरका विभिन्न स्थानमा गल्ने र नगल्ने फोहर फाल्न छुट्टा-छुट्टै कन्टेनर राखिएपनि नगरबासीले फोहरलाई तोकिएको कन्टेनरमा नराख्दा व्यवस्थामा केही समस्या देखिएको बताउनुभयो ।

कुहिने र नकुहिने फोहर छुट्ट्याएर राख्न १२ हजारथान डस्टबिन नगरबासीमा बाँडिएको र थप ३० हजार डस्टबिन बाँड्ने तयारी रहेको नगरप्रमुख सरावगीले जानकारी दिनुभयो ।

उहाँले फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि नगरका विभिन्न क्षेत्रमा देखिएको दुर्गन्धको समस्या समाधान हुनुका साथै नगर सौन्दर्यीकरणमा मद्दत पुगेको बताउनुभयो ।

सञ्चालनमा आएको व्यवस्थापन केन्द्रबाट निस्किने प्रांगारिक मल बिक्री गरी वर्षमा छ करोडभन्दा बढी आम्दानी गर्ने लक्ष्य रहेको महानगरपालिकाले जनाएको छ ।

एसियाली विकास बैंकको ३८ करोड ७१ लाख रुपैयाँ अनुदान र महानगरपालिकाको नौ करोड आठ लाख रुपैयाँको लगानीमा निर्माण भएको फोहर व्यवस्थापन केन्द्रमा नगरक्षेत्रबाट उत्षर्जित फोहरलाई २५ वर्षसम्म व्यवस्थापन गर्न सकिने महानगरपालिकाले जनाएको छ ।