
काठमाडौं, कात्तिक ९ । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि झन्डै ७ प्रतिशत भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्षको दुई महिनाको तथ्यांकअनुसार खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि ६.९१ प्रतिशत र गैरखाद्य तथा सेवाको मुद्रास्फीति २.६८ प्रतिशत रहेको छ ।
चालू आर्थिक वर्षको दुई महिनामा खाद्यान्न तथा गेडागुडीको मूल्य बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
चालू आवको पहिलो दुई महिनाको अवधिमा समग्र मूल्यवृद्धि ४.५२ प्रतिशत छ । गत वर्षको यही अवधिमा उपभोक्ता मूल्यवृद्धि ६.१६ प्रतिशत थियो ।
अहिले कालोबजारीले आपूर्ति शृंखलामा अवरोध पुर्याएर मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ ।
मानिसहरुको क्रयशक्ति कम हुँदा पनि बजारमा मूल्यवृद्धि चरम छ । अन्य सेवा क्षेत्र ठप्प हुँदा यसतर्फको मूल्यवृद्धि न्यून छ । यसैले गर्दा समग्र मूल्यवृद्धिमा कमी देखिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्