
काठमाडौं, कात्तिक ९ । कुनै समय नेपालको निर्यातमा अब्बल मानिएको नेपाली तयारी पोसाकको अवस्था अहिले बिरामी अवस्थामा पुगेको छ ।
निर्यात गरेर नेपालको व्यापार घाटा कम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको तयारी पोसाक उद्योगहरु त्यतिबेलादेखि थलिए, जुन समय चरम लोडसेडिङ, अस्थीर कर नीति, मजदुर आन्दोलनलगायतका कारण बन्द भए । जसका कारण ७५ प्रतिशत उद्योगहरु बन्द भएका थिए ।
त्यो समयदेखि शिथिल रहेको तयारी पोसाकको निर्यातलाई फेरि कोरोनाले थला पारेको छ । कोरोनाकै कारण नेपालको निर्यातमा नगन्य स्थानमा रहेको उद्योग विगतको वर्षभन्दा २५ अर्ब नोक्सानीमा छ ।
अहिले १५ देखि २० प्रतिशतसम्म उत्पादन गरिरहेका उद्योगले महँगो मूल्य तिरेर निर्यात गरिरहेको तयारी पोसाक संघका अध्यक्ष चण्डिराज अर्यालले जानकारी दिनुभयो ।
२०५२ सालदेखि ५९ सालसम्म ‘स्वर्णयुग’ नै रहेको तयारी पोसाक आर्थिक वर्ष ०५८/०५९ मा अमेरिकामा मात्र १० अर्बको निर्यात गर्ने निर्यात वस्तु भएको थियो । त्यसपछि जर्मनी, भारतलगायतका मुख्य बजार मानिन्थे ।
यो क्षेत्रका साना-ठूला १२ सय उद्योग सञ्चालन हुँदा चार लाख बढीले रोजगारी पाएका थिए । तर, मुलुकमा रहेका उद्योग बचाउने सरकारी नीति प्रभावकारी नहुँदा अहिले उद्योगीले आवश्यक कच्चापदार्थकोसमेत समस्या भोगिरेका छन् ।
सरकारले बन्द उद्योग सञ्चालनका लागि पुनर्कर्जालगायतका सहुलियत कर्जाको कुरा गरेपनि उद्योगीले सहुलियत नपाएको गुनासो गरेका छन् ।
कोरोनाले शिथिल पारेको यो अवस्थामा सरकारले निर्यातयोग्य उद्योग चलायमान बनाइ अर्थतन्त्र सुदृढीकरणका लागि तथा उद्योगीको मनोबल बढाउन पहल गर्नुपर्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्