
काठमाडौं, कात्तिक १० । विश्वभरका बौद्ध धर्मावलम्बीले सोमबार २२८२औं शस्त्रअस्त्र परित्याग दिवस मनाएका छन् ।
कोरोना महामारीका कारण सीमितरुपमा औपचारिकताको लागिमात्र बौद्ध विहार, गुम्बा र अशोकस्तम्भ तथा शिलालेख भएको ठाउँमा बौद्धपाठ गरी शस्त्रअस्त्र परित्याग धम्म दिवस मनाइएको हो ।
बौद्ध धर्मावलम्बीहरु अशोक विजयादशमीको रुपमा शस्त्रअस्त्र परित्याग दिवस मनाउने गर्दछन् ।
इसापूर्व २६१ मा कलिंग युद्धमा सम्राट अशोक र उनका सेनाले एक लाखभन्दा बढी मानिस मारेको, लाखौंलाई घाइते तथा अपांग बनाएको र एक लाख ५० हजारभन्दा बढीलाई देश निकाला गरेको इतिहासमा उल्लेख छ ।
कलिंग युद्धबाट अशोक सम्राट चक्रवर्ती कहलाइएपनि सो युद्धमा भएको मानवीय क्षतिपछि विरक्तिएर अशोकले अस्त्र परित्याग गरेका थिए ।
त्यसपछि भिक्षु उपगुप्तबाट बौद्धधर्म ग्रहण गरी अशोकले विश्वभर बौद्धधर्म र शान्तिको प्रचार गरेको ऐतिहासिक तथ्य छ । यही दिनको सम्झनामा बौद्ध धर्मावलम्बीले अशोक विजयादशमी मनाउने गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्