२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सभापति देउवाद्वारा घर-डेरामै सीमित रहेर पर्व मनाउन आग्रह


0
Shares

nepali congress

काठमाडौं, कात्तिक १० । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले घर-डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदी-बहिनी दाजु-भाइहरुमा अनुरोध गर्नुभएको छ ।

विजयादशमीका अवसरमा सोमबार शुभकामना सन्देश दिँदै उहाँले सामाजिक-साँस्कृतिक पर्वहरु मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिलसमेत गर्नुभएको छ ।

सभापति देउवाले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्दै कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणप्रति सचेतता अपनाइ मठ-मन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न पनि आग्रह गर्नुभएको हो ।

‘दशैं हाम्रो एक धार्मिक र साँस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको छ’-सन्देशमा उहाँले भन्नुभएको छ ।

सभापति देउवाले शुभकामना सन्देशमार्फत् विजयादशमीले समुदाय, संस्था, परिवार र व्यक्ति-व्यक्तिबीचको एकतालाई अझ मजबुत बनाउँदै आएको र बनाउनुपर्ने उल्लेख गर्नुभएको छ ।

‘कोरोनाभाइरस संक्रमणको नियन्त्रणमा पर्याप्त समय हुँदा-हुँदै पनि सरकार पूर्णरुपमा असफल भएको छ । आमजनताको स्वास्थ्य खतरामा परेको छ । अर्थतन्त्र धराशायी भएको छ । जनताको जीवन अत्यन्तै कठिन अवस्थाबाट गुज्रिरहेको छ । सरकार जनताकाप्रति संवेदनहीन, गैरजिम्मेवार, अनुत्तरदायी र कर्तव्यविमुख देखिएको छ’-सन्देशमा उहाँले भन्नुभएको छ-‘कोरोनाभाइरस रोकथाममा सरकारले देखाएको उदासीनताका कारण बढ्दो संक्रमणलाई कम गर्न नागरिकहरु आफैंपनि सचेत र सजग हुन जरुरी देखिएको छ ।’

विजयादशमीका अवसरमा सभापति देउवाले आफू र नेपाली कांग्रेसका तर्फबाट स्वदेश तथा विदेश रहेका सम्पूर्ण नेपाली दिदी-बहिनी तथा दाजु-भाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।