१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोशीपम्प लिफ्टिङ चन्द्रगिरी नहरको संरचना जीर्ण, डीपीआर तयार भएपनि सरकारले चासो दिएन


13
Shares

सप्तरी । सरकारी उदासिनताका कारण सप्तरीमा रहेको कोशीपम्प लिफ्टिङ चन्द्रगिरी नहर सिँचाइ जसोतसो चलेको छ ।

नेपाली पक्षले तत्परता नदेखाएका कारण पम्प र सिँचाइ संरचनाको अवस्था जीर्ण हुदाँ पनि पुनः निर्माण हुन सकेको छैन ।

सन १९७१ मा निर्माण भएको कोशी पम्प चन्द्रगिरी नहर सिँचाइ प्रणाली र कोशी–पश्चिमी वितरण नहर सिँचाइ प्रणालीको संरचना दिन प्रतिदिन जीर्ण बन्दै गएको छ ।

भारतीय सरकारले कोशीपम्प लिफ्टिङ परियोजनाको जिर्णोधार गर्ने प्रतिवद्धता जनाए पनि नेपाल सरकारको उदासिनताका कारण पुर्ननिर्माणको काम अगाडि बढन सकेको छैन ।

जसोतसो पम्प प्रणालीलाई संचालन गरेर सप्तरीको ११ हजार हेक्टर जगा सिञ्चित गरिएको छ ।

सिंचाइ कार्यालयका कर्मचारीको योगदानले उक्त पम्पहरु ठोकठाक गरेर चले पनि सप्तरीको सिंचाइप्रति सरकार उदासिन रहेको कार्यालयका सिनियर डिभिजन इन्जिनियर महेश कुमार मन्डलले आरोप लगाउनुभयो ।

भारतले पम्पलगायत सम्पुर्ण परियोजनालाई निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेपनि नेपाली पक्षको उदासिनताका कारण परियोजना सुरु नहुनु आफैमा प्रश्नको विषय बनेको छ ।

सप्तरीको २६ हजार हेक्टर खेत सिँचाई हुने यस नहर परियोजनाको लगभग सबै संरचना विग्रिदै जाँदा पनि नेपाल सरकारले आवश्यक बजेटको लागि भारत सरकारसँग सक्रिय पहल गर्न नसकेको कृषकको आरोप छ ।

परियोजना पुनर्निमाणका लागि चार अर्ब आवश्यक बजेटबारे प्रारम्भिक चरणका काम गरि सम्बन्धित मन्त्रालयमा तीन वर्ष अगाडि पठाएपनि नेपाल सरकार यस विषयमा उदासिन देखिएको कार्यालय प्रमुख .राजेन्द्रप्रसाद साहको भनाइ छ ।

डिपिआर तयार भएपनि परियोजनाको कागजी कारवाही अगाडि बढने सकेको छैन ।

नेपालका प्राविधिक तथा सरकारी पक्षले पनि निर्माणको कामका लागि करिब चार अर्बको लागत इस्टिमेट गरेर तीन वर्ष अगाडि मन्त्रालयमा पठाए पनि अहिलेसम्म भारत सरकारसँग निर्माण कार्य सम्झौता हुन सकेको छैन ।

परियोजनामा दुई वटा पम्प हाउस रहेका छन् । एउटालाई पम्प ए हाउस र अर्कोलाई पम्प बि हाउस नामाकरण गरिएको छ ।

ए र बी पम्प हाउसले १४ क्यूमेक पानी फाल्ने क्षमता रहको छ । ३३ किलोमिटर लम्बाई रहेको नहरले २६ हजार ३ सय ६२ हेक्टर क्षेत्रफल सिँचाइ गर्दै आएको छ ।

त्यसैगरी सिँचाइ व्यवस्थापन कार्यालयलाई वर्षेनी नेपाल सरकारले दिने बजेटको अभावका कारण पनि नहरको मर्मत सम्भार तथा अन्य काम गर्न समस्या भएको जनाएको छ ।