
काठमाडौं, कात्तिक १३ । बुधबारबाट सरकारी कार्यालय खुलेपनि कर्मचारीको उपस्थिति न्यून देखिएको छ ।
यो वर्षको दशैं बिदा मंगलबारबाट सकिएको छ । बुधबारबाट सबै सरकारी कार्यालय खुली काम सुचारु हुनुपर्नेमा बिहीबारको दिन पनि कार्यालयहरु खाली देखिएका छन् ।
मुख्यगरी मुलुकको प्रमुख प्रशासनिक केन्द्र मानिने सिंहदरबारका मन्त्रालयहरु पनि सुनसान देखिएका छन् । यसका साथै सिंहदरबार वरिपरि रहेका विभिन्न मन्त्रालयका विभागहरु पनि खाली देखिएका छन् ।
कोरोना संक्रमणको जोखिमकाबीच आफ्नो घर, जन्मस्थान गएका कर्मचारी काठमाडौं फर्केसँगै जोखिम झनै बढेको छ ।
दशैं मनाएर फर्किएका कर्मचारी केही दिन ‘क्वारेन्टिन’मा बसेर कार्यालय आउने वा सिधै कार्यालयमा आउने भन्नेबारे सरकारको स्पष्ट नीति निर्देशन नहुँदा पनि कर्मचारीहरु कार्यालय आउन अन्योल भएको देखिन्छ ।
यो वर्ष दशैं मनाउन काठमाडौं उपत्यकाबाट करिब छ लाख मानिसहरु बाहिरिएका थिए ।
प्रतिक्रिया दिनुहोस्