
डडेल्धुरा, कात्तिक १३ । ऐतिहासिक पर्यटकीय क्षेत्र अमरगढी किल्लामा नेपाली सेनाले कोतघर निर्माण गरी अमरगढी नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
पुरातात्विक अमरगढी ढुंगे विशाल किल्लाभित्र गत आर्थिक वर्षमा निर्माण कार्य सुरु भइ तयार भएको कोतघर सम्बन्धित स्थानीय तह अमरगढी नगरपालिकाका प्रमुखलाई औपचारिक कार्यक्रमका साथ हस्तान्तरण गरिएको हो ।
हाल केही पुस्तकहरुका साथ सुरु भएको पुस्तकालय स्थापनासहित कोतघर करिब २० लाख रुपैयाँको लागतमा निर्माण भएसँगै पर्यटकलाई किल्लाकाबारेमा जानकारी लिन सहज भएको छ ।
नेपाली सेनाको रणबम गणले कोतघरको निर्माणकार्य सम्पन्न गरेको हो ।
योसँगै आन्तरिक व्यवस्थापन र तत्कालीन हातहतियार पनि खोजी गरी पर्यटकीय अवलोकनका लागि आकर्षण थप्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयको सुझाव छ ।
हस्तान्तरण कार्यक्रममा सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले अमरगढी किल्लामा बनेको कोतघरमा राख्नका लागि आवश्यक पर्ने सामग्रीका लागि समन्वय गर्ने बताउनुभएको छ ।
वि.सं. १८४७ मा कुमाउ आक्रमण गर्दा अमरसिंह थापाले यो किल्लाको निर्माण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्