
काठमाडौं, कात्तिक १४ । यस वर्षको तिहार अधिकमासका कारण झन्डै एक महिना पछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा मखमली फूलको मालाको खपत हुने गर्छ ।
तर, यस वर्ष तिहारअगाडि नै सयपत्री फूल फुलिसक्ने भएकाले मागअनुसार फूल आपूर्ति हुननसक्दा बजार प्रभावित हुने देखिएको छ ।
तर, व्यवसायीहरुले भने तिहारमा स्वदेशी उत्पादनले नै फूलको माग धान्ने बताएका छन् ।
अधिकमासका कारण यस वर्षको तिहार झन्डै एक महिना पछाडि धकेलिएको छ । त्यसैले यसपटक तिहारमा फूलको बजार प्रभावित हुने अनुमान गरिएको छ ।
किसानहरुले लगाएको सयपत्री फूल फुल्ने समयभन्दा पछाडि तिहार परेकाले फूलको बजारमा असर पर्ने आँकलन गरिएको हो ।
तर, पुष्प व्यवसायीहरु भने ‘क्यालेन्डर’को आधारमा फूलखेती गरिएकाले नेपाली उत्पादनले नै यस वर्षको मागलाई सहजै धान्ने बताएका छन् ।
फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष कुमारकसजु श्रेष्ठले अधिकमासका कारण यस पटकको तिहार २०/२२ दिन पछाडि धकेलिएपनि फूलको बजारलाई कुनै असर नपर्ने बताउनुभयो ।
घरेलु किसानले उत्पादन गरेको फूल तिहारअगाडि नै सुकेर जाने भएपनि व्यवसायिकरुपमा गरिएको फूलको उत्पादन निरन्तर चलिरहेकोले तिहारको मागलाई सजिलै धान्ने उहाँले बताउनुभयो ।
गत वर्षको तिहारमा २५ लाख माला खपत भएको थियो । जसमध्ये मखमली माला पाँच लाख र सयपत्री माला २० लाख रहेको थियो । यस वर्ष भने कोभिड-१९ संक्रमणको जोखिमका कारण फूलको माग कम हुने आँकलन गरिएको पनि अध्यक्ष कसजुले बताउनुभयो ।
यस वर्ष १२ देखि १५ लाख मालाको माग हुने अनुमान गरिएको र सबै मालाको आपूर्ति स्वदेशी उत्पादनबाट हुने उहाँको भनाइ छ ।
यस वर्ष फूलको मूल्य भने केही महँगो पर्ने भएको छ । सयपत्री फूलको एउटा मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म पर्नसक्ने उहाँले बताउनुभयो ।
गत वर्ष सयपत्री फूलको एउटा मालाको मूल्य ५० देखि ६० रुपैयाँ परेको थियो ।
पुष्प व्यवसायी श्यामसुन्दर प्रजापतिले भने तिहारका लागि लगाइएको सयपत्री फूल फूलिसकेको बताउनुभयो । केही फूल तिहारसम्म काम नलाग्ने गरी सुकिसकेको पनि उहाँले बताउनुभयो ।
चिसो बढ्दै जाँदा फूल झाँगिन नसक्ने र फुलेको फूलसमेत सुक्ने भएकाले तिहारसम्म सयपत्री फूललाई जोगाइराख्न समस्या भएको उहाँले बताउनुभयो ।
तिहार पछाडि भएपनि नेपालमा उत्पादित फूलले बजारको मागलाई धान्ने भएकाले बाहिरी मुलुकबाट फूल आयात गर्न नहुने व्यवसायीहरुको भनाइ छ ।
अन्य मुलुकबाट नआउँदा आन्तरिक फूलको मूल्य बढ्छ भन्ने बुझाइले गर्दा आत्मनिर्भर भइसकेको अवस्थामा पनि फूल आयात हुने गरेको व्यवसायीहरुले गुनासो गरेका छन् ।
गत वर्षको तिहारमा करिब १० लाख फूलका माला भारतबाट आयात भएको थियो ।
प्रतिक्रिया दिनुहोस्