१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ताइवानमा २०० दिनदेखि कोरोनाका आन्तरिक संक्रमित छैनन्


0
Shares

ताइपेइ, कात्तिक १४ । ताइवानमा पछिल्लो २०० दिनदेखि कोरोनाभाइरस आन्तरिकरुपमा सरेर संक्रमित भएकाहरुको संख्या शून्य रहेको छ ।

विश्वभरि कोरोनाभाइरसको महामारी फैलिइरहेको भएपनि ताइवानमा भने अहिलेसम्म ५५० जनामात्रै संक्रमित भेटिएका थिए ।

त्यसैगरी, कोरोनाभाइरसका कारण ताइवानमा अहिलेसम्म सातजनाकोमात्रै मृत्यु भएको छ ।

ताइवानमा झन्डै दुई करोड ३० लाख जनसंख्या रहेको छ ।

ताइवानमा सबैभन्दा पछिल्लो संक्रमित गत अप्रिलको १२ तारिखका दिन भेटिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सफल देशकोरुपमा ताइवानलाई लिन थालिएको छ ।

चिकित्सासम्बन्धी अष्ट्रेलियाली राष्ट्रिय विश्वविद्यालय मेडिकल सेन्टरका प्राध्यापक पिटर कोलिग्ननले कोरोना महामारीको राम्रो व्यवस्थापन गर्नेमा ताइवान विश्वमै सबैभन्दा अगाडि रहेको दाबी गर्नुभयो ।

प्रतिवेदनहरुकाअनुसार ताइवान सन् २०२० मा लगातार आर्थिक वृद्धि गर्ने थोरै देशहरुको सूचीमा पनि रहेको छ ।

महामारीको चर्चा थाहा पाउनासाथ आवतजावत गर्ने र भिडभाड गर्नेहरुलाई रोक्ने गरी प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गरिएकाले संक्रमण फैलिन नपाएको उहाँको भनाइ छ ।

यस्तो व्यवस्था जनवरीमै लागू गरिएको थियो । साथै, ताइवानले सुरुदेखि नै सीमानाकामा पनि कडाइ गरेको थियो ।

ताइवानमा विद्युतीय माध्यमबाट शंकास्पद व्यक्तिहरुको ‘ट्राकिङ’ गरिएको र शंका लागेका व्यक्तिहरुलाई कम्तीमा १४ दिन ‘क्वारेन्टिन’मा बस्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरिएको छ ।