
बेइजिङ, कात्तिक १४ । चिनियाँ नेताहरूले उच्चस्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुनेगरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् ।
पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च प्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनले नयाँ महत्वाकांक्षी योजना सार्वजनिक गरेको हो ।
सत्तारुढ कम्युनिस्ट पार्टीका नेताहरूले नयाँ पञ्चवर्षीय योजनाको मस्यौदा बिहीबार बेइजिङमा सार्वजनिक गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
राष्ट्रपति सी चिनफिङको नेतृत्वको चीनले ट्रम्प प्रशासनले अमेरिकी प्रविधि बिक्रीमा लगाएको प्रतिबन्धबाट सिर्जित क्षतिलाई सीमित गर्ने प्रयास गरिरहेको छ ।
अमेरिकाले खासगरी सुरक्षा र जासुसीको आरोप लगाउँदै चिनियाँ प्रविधि कम्पनीहरुलाई एकपछि अर्को आदेशद्वारा अमेरिकी चिप्सहरु बिक्री गर्न रोकिराखेको छ ।
चिनियाँ कम्पनीहरुले टेलिकम, बायोटेक र अन्य क्षेत्रमा प्रतिस्पर्धा गर्न थालेपछि अमेरिकाले नयाँ रणनीति अपनाउन थालेको चिनियाँ नेताहरुको बुझाइ छ ।
चिनियाँ कम्युनिस्ट पार्टीद्वारा प्रकाशित विज्ञप्तिमा ‘विज्ञान र प्रविधि राष्ट्रिय विकासको लागि रणनीतिक महत्वका भएकाले यो क्षेत्र आत्मनिर्भर हुनु पर्दछ’ भनिएको छ ।
विज्ञान र प्रविधिमाथिको सामर्थ्य निर्माणका कार्यलाई द्रुतगतिमा अघि बढ्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । तर, यसबारे विस्तृत विवरण दिइएको छैन ।
चीनमा सन् १९५० को दशकदेखि पञ्चवर्षीय योजना लागू छ । चार दशकयता खुला बजार र आर्थिक उदारीकरणको नीति अंगालेको चीनले पञ्चवर्षीय योजनाका आधारमा देशको समग्र आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई सम्बोधन गर्ने गरेको छ । जसमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका प्रमुखरुपमा रहने गरेको छ ।
योजनाको पूर्ण विवरण अर्को वर्षको मार्चमा सार्वजनिक गरिनेछ । नियमहरुमा संशोधन तथा उद्योगहरुका लागि नयाँ योजना त्यसपछि अगाडि सारिने बताइएको छ ।
बिहीबार सार्वजनिक वक्तव्यमा ‘हरित र कम कार्बनयुक्त विकास’लाई बढावा दिइने तथा चिनियाँको जीवनस्तर माथि लैजाने वाचा गरिएको छ । साथै, वक्तव्यमा २३ लाख सैनिकलाई थप सुदृढ र सुसज्जित गरी ‘राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न’ सक्षम तुल्याइने उल्लेख छ ।
चीनले हाल एक ‘जटिल अन्तर्राष्ट्रिय परिस्थितिको सामना गरिरहेको छ’-वक्तव्यमा भनिएको छ । तर, कोरोनाभाइरस महामारी वा अमेरिकासँगको कर युद्धकाबारेमा कुनै उल्लेख गरिएको छैन ।
चीनका कारखानाहरूले विश्वको अधिकांश स्मार्टफोन, पर्सनल कम्प्युटर र दैनिक उपभोग्य इलेक्ट्रोनिक्स उत्पादन गर्दछन् । तर, त्यसका लागि अमेरिकी, युरोपियन र जापानी सामान जरुरी हुन्छ ।
चिनियाँ कम्युनिस्ट नेताहरूले यी वस्तुको उत्पादनमा विदेशीसँगको परनिर्भरतालाई रणनीतिक कमजोरीको रूपमा हेर्छन् ।
बिहीबारको वक्तव्यमा कुनै खास प्रविधिकाबारेमा उल्लेख छैन । तर, नेताहरूले विशेषगरी चीनमा उत्पादित स्मार्टफोन, इलेक्ट्रिक कारहरू र अन्य प्रविधिमा प्रयोग गरिने प्रसेसर चिप्सहरुका लागि अमेरिकासँग निर्भर रहनुपरेकामा चिन्ता व्यक्त गरेका छन् ।
चीनले मूल्यका आधारमा हाल कच्चा तेलकोभन्दा बढी मूल्यको सेमिकन्डक्टर आयात गर्दछ ।
टेलिकम उपकरण निर्माता हुवावे टेक्नोलोजिजले अहिले चिप्स र अन्य उपकरण निर्माण गर्न थालिसकेको छ । तर, यसले आफ्ना सबै आवश्यकता पूर्ति गर्न सक्दैन ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा चिनियाँ कम्पनीमाथि दबाब बढाएसँगै चिनियाँहरुले प्रसेसर चिप्स र प्रविधि विकासतर्फ ध्यान दिन थालेका हुन् ।
गत वर्ष ह्वाइट हाउसले चिनियाँ चिप्स र अन्य सामानको आयातमा समेत कडा नियन्त्रण घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्