
काठमाडौं, कात्तिक १४ । कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी उपनगरपालिका वडा नम्बर-१ स्थित कब्रस्तान ‘सिल’ गरिएको छ ।
धनगढी उपमहानगरपालिका प्रवक्ता एवं वडा नम्बर-१ का वडाध्यक्ष सन्तोष मुडभरिको रोहभरमा कब्रस्तान सिल गरिएको हो ।
बिहीबार कोरोना संक्रमित महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्तीबीचमै रहेको कब्रस्तानमा गाडेको थियो ।
त्यसपछि कोरोना संक्रमतिको शव मानवबस्तीनजिकै गाडिएको भन्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका थिए ।
यससँगै जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरूबीच छलफल गर्दापनि कुनै निष्कर्ष नआएपछि अर्को निर्णय नभएसम्मका लागि कब्रस्तान सिल गरिएको धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताउनुभयो ।
मानवबस्तीसँगै जोडिएको कब्रस्तानमा कोरोना संक्रमितको शव व्यवस्थापन गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए । स्थानीयले कब्रस्तानमा तालासमेत लगाएका छन् । यससँगै अन्य मृतकको शव व्यवस्थापन हुन सकेको छैन ।
दुवै मिर्गौलाले काम गर्न छाडेपछि शुक्रबार बिहान मृत्यु भएका धनगढी उपमहानगरपालिका–१ का ५० वर्षीय मोहम्मद जमसेदको शव व्यवस्थापनमा समस्या भएको छ ।
तर, आन्दोलनरत् पक्षले भने धनगढीमा रहेको कब्रस्तान सधैंका लागि बन्द हुनुपर्ने माग गरेको छ ।
सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएकी कोरोना संक्रमित महिलाको शव कब्रस्तानमा गाडिएको हो ।
आक्रोशित स्थानीयहरूले त्यहाँ गाडिएको शव निकालेर अन्यत्रै व्यवस्थापन गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्