१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुनसरी, नवलपरासी र बाँकेमा कोरोनाका कारण थप चारको मृत्यु, होम आइसोलेसनमा बसेका दुई संक्रमितको निधन


0
Shares

काठमाडौं । कोरोनाका कारण मुलुकका विभिन्न स्थानमा थप चार जनाको मृत्यु भएको छ ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

झापाको गौरीगञ्ज घर भएका ७३ वर्षीय पुरुषको आज मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो ।

पहिलेदेखि नै मुटुको समस्याबाट पीडित ती पुरुषमा कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कात्तिक ७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा उनी भर्ना भएका थिए ।

यस्तै दाङका एकजना कोरोना संक्रमित बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय पुरुषको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा आज मृत्यु भएको हो ।

त्यसैगरी होम आइसोलसनमा बस्दै आएका पूर्वी नवलपरासीका दुई जना कोरोना भाइरस संक्रमित मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका वडा नं. २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका वडा नं. ६ का ६७ वर्षीय पुरुषको शनिबार वहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।