
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल हेरफेरको तयारी थाल्नुभएको छ ।
मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर अर्का नेता माधव नेपाल समूहकालाई मन्त्री बनाउने तयारी गरेको बताइएको छ ।
प्रधानमन्त्री ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाउने तयारी भएको बताइएको छ ।
बैंकिङ कसुरको आरोपमा खड्कबहादुर खत्रीलाई हटाएपछि रिक्त रहेको भौतिक पूर्वाधार विकास मन्त्री पनि आजै नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी छ ।
खत्री पनि ओली पक्षबाटै मन्त्री बन्नु भएको थियो । अब बन्ने मन्त्रीहरुमा चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापाको नाम चर्चामा रहेको छ ।
तर मुख्यमन्त्री शाहीले कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने बारेमा निर्णय भइनसकेको उहाँ निकट नेताहरुले बताएका छन् ।
यसैबीच मुख्यमन्त्री शाहीले हटाउने पूर्वसूचना पाएपछि सामाजिक विकास मन्त्री दल रावलले सामाजिक सञ्जालमार्फत अघोषित रुपमा पद त्यागेको घोषणा गर्नुभएको छ ।
ओली पक्षले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले यसअघि प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाउनुभएको थियो ।
उक्त प्रकरणले नेकपामा समेत तरंग उत्पन्न भएको थियो । पुष्पकमल दाहाल र माधव नेपाल पक्ष एक भएपछि कर्णाली प्रदेशमा ओली पक्ष अल्पमतमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्